अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम)को त्रिभुवन जनता माध्यमिक विद्यालयमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार विद्यालयमा सञ्चालन गरिने भनिएको प्रविधिमैत्री कक्षा कोठा कार्यक्रमअन्तर्गत खरिद गरिएका सामग्री आपूर्ति नगरी तथा तालिमसमेत सञ्चालन नगरी झुट्टा बिल–भरपाई तयार पारेर भुक्तानी गरिएको पाइएको छ। यसरी विद्यालयको खाताबाट रकम झिकेर हिनामिना गरिएको आरोप लगाइएको छ।
उक्त प्रकरणमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरि प्रसाद खनालसहित ८ जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै रु. १० लाख ७५ हजार ७५३ बिगो कायम गरी कैद तथा जरिवानाको मागदाबी गरेको छ।
साथै सोही ऐनको दफा १९(२) बमोजिम थप सजायको मागसमेत गरिएको आयोगले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्