विश्व सिमसार दिवसको उपलक्ष्यमा संरक्षण कार्यक्रमअन्तर्गत चार वर्षका १० वटा घडियाल गोहीमध्ये पाँच वटा बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत गैंडा मचान अगाडि खौराहा खोलाको सिरानमा छाडिएको छ । बाँकी पाँच वटा घडियाल गोहीलाई बाँके राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको छ ।

घडियाल गोही संरक्षण तथा सिमसार क्षेत्रको जैविक विविधता जोगाउने उद्देश्यले गरिएको उक्त कार्यक्रम वातावरण संरक्षणतर्फ महत्वपूर्ण कदमका रूपमा लिइएको छ । निकुञ्ज व्यवस्थापनका अनुसार प्राकृतिक वासस्थानमा गोही छाडिँदा सिमसार क्षेत्रको पारिस्थितिक सन्तुलन मजबुत हुने विश्वास गरिएको छ ।
यसै अवसरमा अमरेनीदेखि कर्णाली चिसापानीसम्म तथा सैनावारदेखि रम्मापुरसम्मका राजमार्ग क्षेत्रमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । सडक छेउछाउमा फालिएका फोहोर संकलन गरी वातावरण स्वच्छ बनाउने उद्देश्यले सरसफाइ अभियान गरिएको हो ।
कार्यक्रममा राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, मध्यवर्ती क्षेत्रका उपभोक्ताहरू, कम्युनिटी बेस्ड एन्टी–पोचिङ युनिट तथा नेशनल ट्रस्ट फर नेचर कन्जर्भेसनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।
सहभागीहरूले सिमसार क्षेत्र संरक्षण, वन्यजन्तु सुरक्षाका साथै वातावरणीय सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम निरन्तर आवश्यक रहेको बताएका छन् ।











प्रतिक्रिया दिनुहोस्