२०८३ वैशाख ६ , आइतबार

मुगु जिल्ला अस्पतालको सेवा सुधारका लागि नगरपालिका र अस्पताल समिति बीच सम्झौता



मुगु जिल्लामा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने उद्देश्यले मुगु जिल्ला अस्पताल विकास समिती र छायाँनाथ रारा नगरपालिकाबीच सम्झौता  भएको छ।

बुधबार भएको सम्झौतामा अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापन सुधारका विभिन्न विषयमा सहमति जुटाइएको हो।

सम्झौताअनुसार स्वास्थ्य सेवा कार्यालय मुगुका लागि आवश्यक उपकरण तथा फार्मेसी औषधि खरिदका लागि छायाँनाथ रारा नगरपालिकाबाट १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ।

साथै, स्वास्थ्य सेवा कार्यालयको क्वारेन्टिन भवन सुधार तथा सुदृढीकरणका लागि आवश्यक सहयोग उपलब्ध गराइने सहमति भएको छ।

यसैगरी, पुरानो अस्पताल व्यवस्थापन समिती र छायाँनाथ रारा नगरपालिकाबीच यसअघि भएको सम्झौताअनुसार कोषबाट प्राप्त उपकरण सञ्चालनका लागि आवश्यक १५ लाख रुपैयाँ बजेट उपलब्ध गराउने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ।

सम्झौतामा छायाँनाथ रारा नगरपालिकाका तर्फबाट नगरप्रमुख विष्णुकुमार भाम र अस्पताल विकास समिती मुगुका तर्फबाट अध्यक्ष गजेन्द्र बहादुर मल्लले हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार