नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद तथा जरिवानाको सजाय सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गर्दै मुख्य अभियुक्तहरूलाई अधिकतम ४ वर्षसम्म कैद सजाय सुनाएको हो।
यसअघि २३ असारमा अदालतले ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर, ७ जनालाई सफाइ तथा ८ जनाको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको थियो।
अदालतको फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, बिचौलिया केशव दुलाल र सानु भण्डारी, साथै सन्देश शर्मा, आङटावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्दकुमार चौधरीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
पूर्वगृहमन्त्री बालकृष्ण खाण र भुटानी अधिकारवादी नेता टेकनाथ रिजाललाई भने २ वर्ष कैद तथा २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ।
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का तत्कालीन सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पनि ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ। तर ७५ वर्षभन्दा माथिको उमेर भएका कारण कानुनी व्यवस्थाअनुसार उनको कैद सजायमा छुट दिइएको छ। अब उनले ३ वर्ष २ महिना १० दिन कैद भुक्तान गर्नुपर्नेछ।
यस्तै, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको अदालतले जनाएको छ।
यो प्रकरणमा नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई अमेरिका पठाइदिने प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरिएको आरोपमा उच्च तहका राजनीतिक नेता, पूर्वप्रशासक, सुरक्षा अधिकारी तथा बिचौलियाविरुद्ध मुद्दा दायर गरिएको थियो। अदालतको पछिल्लो फैसला यस बहुचर्चित प्रकरणको सजाय निर्धारणसँग सम्बन्धित महत्वपूर्ण निर्णयका रूपमा हेरिएको छ।









Pedro
काेज्नु पर्छ जन्मकैद