२०८३ साउन ११ , सोमबार

लेकबेशीको नगर शिक्षा योजना प्रमाणीकरण तथा पृष्ठपोषण कार्यशाला सम्पन्न



सुर्खेतकाे लेकबेशी नगरपालिकामा नगर शिक्षा योजना प्रमाणीकरण तथा पृष्ठपोषण सम्बन्धी कार्यशाला सम्पन्न भएको छ। आगामी आर्थिक वर्ष २०८३/०८४ देखि २०८७/०८८ सम्मका लागि तयार पारिएको नगर शिक्षा योजनामाथि सरोकारवाला निकायबीच छलफल गर्न उद्देश्यले कार्यशाला आयोजना गरिएको हो।

कारखाना समूहको आयोजना तथा ग्लोबल पार्टनरशिप फर एजुकेशन (GPE) अन्तर्गत एजुकेशन आउट लाउड (EOL) को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन (CSE) परियोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

कार्यशालामा शिक्षा क्षेत्रका प्रमुख उपक्षेत्रलाई पाँच समूहमा विभाजन गरी विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विद्यालय शिक्षा सुधार, शिक्षक व्यवस्थापन, विद्यार्थी–शिक्षक अनुपात, भौतिक पूर्वाधार, गुणस्तरीय सिकाइ, समावेशी शिक्षा, पाठ्यपुस्तक व्यवस्थापन, सिकाइ सामग्री तथा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी विषयमा सुझाव प्रस्तुत गरेका थिए।

लेकबेशी नगरपालिका–४ का वडाध्यक्ष लोकेन्द्र थापाले विद्यार्थी र शिक्षकको अनुपात नमिल्दा शिक्षण–सिकाइ प्रक्रिया प्रभावित हुने गरेको बताए। उनले विद्यार्थी सङ्ख्या र आवश्यकताका आधारमा शिक्षक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। स्थानीय तह, विद्यालय, अभिभावक तथा समुदायबीचको समन्वय र सहकार्यबाट मात्र नगर शिक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन हुन सक्ने उनको भनाइ थियो।

शिक्षक लोकबहादुर नेपालीले शिक्षा क्षेत्रमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी), शिक्षक तालिम, शैक्षिक सामग्री तथा आवश्यक बजेट व्यवस्थापनलाई योजनामा प्राथमिकताका साथ समेट्नुपर्ने बताए। उनले स्थानीय पाठ्यपुस्तक छपाइका लागि समेत बजेट वृद्धि गर्नुपर्नेमा जोड दिए।

लेकबेशी नगरपालिका–३ का वडाध्यक्ष लिलाराम अधिकारीले भाषागत सुधार, प्राविधिक शिक्षा तथा पाठ्यपुस्तक व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए। उनका अनुसार केही विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनमा आए पनि विद्यार्थी अभावका कारण त्यसलाई निरन्तरता दिन कठिनाइ भएको छ। विद्यालयमा आवश्यक पाठ्यपुस्तक र सिकाइ सामग्रीको अभाव रहेको तथा स्थानीय तहले सञ्चालनमा ल्याएका पाठ्यपुस्तक बजारमा सहज रूपमा उपलब्ध नहुने समस्या समाधान गर्नुपर्ने उनले बताए।

यस्तै, जीवन ज्याेति माविका प्रधानध्यापक तीर्थप्रसाद पौडेलले शिक्षाको गुणस्तर सुधारका लागि भाषागत सुधार आवश्यक रहेको बताए। उनले विद्यार्थीको सिकाइस्तर र स्थानीय आवश्यकताअनुसार शिक्षण विधि तथा शैक्षिक सामग्रीमा सुधार गर्नुपर्ने धारणा राखेका थिए ।

नगर शिक्षा योजनाले आगामी ५ वर्षमा बालबालिकाको भविष्य निर्माणका लागि स्पष्ट मार्गदर्शन गर्ने नगर उपप्रमुख विमला खड्लुकले बताइन्। पछिल्ला वर्षमा बालबालिका बाहिर पढ्न जाने क्रम बढिरहेको उल्लेख गर्दै उनले स्थानीय विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन्।

‍नगरपालिकाकाक़क़क़क़ नगरप्रमुख उमेशकुमार पौडेलले नगर शिक्षा योजना निर्माण भइसकेको र समय तथा आवश्यकताअनुसार परिमार्जन गर्दै कार्यान्वयनमा लैजाने बताए। उनले डिजिटल अर्थतन्त्रसँग जोडिने गरी बालबालिकालाई सक्षम बनाउनुपर्नेमा जोड दिँदै आईसीटी ल्याब स्थापना तथा विद्यालयका समस्या समाधानका लागि नगरपालिकाले काम गरिरहेको बताए।

नगरप्रमुख पौडेलले बालशिक्षामा सुधार ल्याउनुपर्ने, बालबालिकालाई डिजिटल सिकाइतर्फ आकर्षित गर्नुपर्ने तथा विद्यालयमा विषयगत शिक्षकको अभाव समाधान गर्नुपर्ने बताए। विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानमार्फत माध्यमिक तथा आधारभूत तहका विद्यालयलाई व्यवस्थित बनाउँदै डिजिटल विद्यालयको अवधारणामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रमको सहजीकरण कर्णाली सिकाइ समूहका सदस्य राजबहादुर रोकायले गरेका थिए। कार्यशालाबाट प्राप्त सुझावलाई समेटेर नगर शिक्षा योजनालाई अन्तिम रूप दिइने लेकबेशी नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।