साउनको पहिलो सातासम्म देशभर झन्डै ८० प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि विभागको तथ्यांकअनुसार ७ साउनसम्म देशभर ७९.३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको हो।

देशभर धान खेतीका लागि योग्य कुल १३ लाख ७३ हजार ८६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ९० हजार ३३६ हेक्टरमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश धान रोपाइँमा सबैभन्दा अगाडि रहेको छ। प्रदेशमा धान खेतीयोग्य कुल १ लाख ६२ हजार २५० हेक्टर क्षेत्रफलमध्ये ९०.६७ प्रतिशत अर्थात् १ लाख ४७ हजार १०६ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ।
कोशी प्रदेशमा कुल २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ७३.९४ प्रतिशत अर्थात् २ लाख ४ हजार ३४७ हेक्टर क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको छ।
देशको प्रमुख अन्नभण्डार मानिने मधेश प्रदेशमा यस वर्ष ७८.६० प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ। विभागका अनुसार प्रदेशमा हालसम्म ३ लाख ५८० हेक्टर क्षेत्रमा धान रोपिएको छ। गत वर्ष ११ साउनसम्म मधेशमा केवल ५१.८२ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको थियो। यस वर्ष अनुकूल मौसमका कारण मधेशमा रोपाइँ उल्लेख्य रूपमा अघि बढेको देखिएको छ।
लुम्बिनी प्रदेशमा कुल ३ लाख १ हजार ३७२ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ८०.६५ प्रतिशत अर्थात् २ लाख ४३ हजार ४२ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।
त्यसैगरी, बागमती प्रदेशमा ७७.३३ प्रतिशत, गण्डकी प्रदेशमा ७८.३६ प्रतिशत र कर्णाली प्रदेशमा ७७.०५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। बागमतीमा १ लाख १४ हजार ५२४ हेक्टर, गण्डकीमा ९३ हजार ६०६ हेक्टर तथा कर्णालीमा ४३ हजार २९० हेक्टर क्षेत्र धान खेतीका लागि योग्य रहेको छ।
समग्रमा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको अवस्था केही सुधारिएको देखिएको छ। अघिल्लो वर्ष ११ साउनसम्म देशभर ७८.८४ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष सो प्रतिशत बढेर ७९.३६ पुगेको कृषि विभागको तथ्यांकले देखाएको छ।








