सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ अन्तर्गत लाटीकोइली क्षेत्रको पर्सेनीमा खानेपानी परियोजना निमार्ण भइरहेको छ। एईआइएन लक्जमबर्गको आर्थिक सहयोगमा नेपाल नाजरेत सोसाइटीद्वारा सञ्चालित नवज्योति केन्द्रले उक्त परियोजना निर्माण कार्य अगाडि बढाइएको हो ।

परियोजनाले हाल दुई वटा बोरिङको पानीलाई लिफ्ट प्रणालीमार्फत १३० घन मिटरको ट्याङ्कीमा खसाल्ने काम भइरहेको इन्जिनियर रमेश सापकोटाले बताए ।
उनले सो बोरिङबाट निस्किएको पानीलाई सञ्चालनका लागि ट्याङ्की ट्रान्समिसन पाइपलाइन, वितरण पाइपलाइन र मोटर हाउस निर्माण भइरहेको छ । ट्याङ्कीमा पानी सङ्कलन गरी पाइप लाइनमार्फत टोल–टोलमा वितरण गरिने पर्सेनीमा खानेपानी परियोजना १७ मङ्सिर २०८१ मा सुरु भएको थियो ।
यस परियोजनाको कुल लागत रु १ करोड २० लाख ५१ हजारमा निमार्ण हुने भएको छ । जसमा १७ भदौ २०८२ मा परियोजना सम्पन्न हुने लक्ष्य रहेको इन्जिनियर सापकोटाले जानकारी दिए । स्थानीय रामबहादुर मल्लले यहाँ वर्षौँदेखि पानीको समस्या भोग्दै आएका छौँ। ‘अहिले अस्थायी बोरिङ र झुप्रा खानेपानीको भरमा गुजारा भइरहेको बताए ।

‘यो स्थायी समाधान होइन। धेरै घरमा कुवा छैनन्, जसका कारण शुद्ध पिउने पानी पाउन गाह्रो पर्छ।’ उनले भने, ‘नुहाउने र लुगा धुने पानीको पनि अभाव छ। अब पर्सेनी खानेपानी आयोजना पूरा भएपछि टोल–टोलको खानेपानी समस्या समाधान हुन्छ ।’ सो पानीको आयोजना सफल भए आफूहरू पानीका लागि दैनिक जस्तो सङ्घर्ष गर्नु पर्ने अवस्था अन्त्य हुने उनले बताए ।
खडेरीमा झुप्राबाट पानी १५ दिनमा मात्र एक पटक आउँछ। त्यति बेला पिउन र अरू काम गर्न निकै गाह्रो पर्छ। अर्को स्थानीय उपभोक्ता समूहका सदस्य मीन बहादुर शाहले भने, ‘वर्षामा त खान लायकको पानी आउँदैन, फोहोर पानी मात्रै आउँछ। अब पर्सेनी खानेपानी आयोजनाले हामीलाई ठुलो आशा जगाएको छ ।’
परियोजनाले अलायाचौर, माथिल्लो पर्सेनी, चाँदनी चौकी र रहरपुरको तल्लो भागका ५ सय ७३ घरधुरीले दीर्घकालीन रूपमा स्वच्छ खानेपानी पाउने भएका छन्।











प्रतिक्रिया दिनुहोस्