२०८३ वैशाख ६ , आइतबार

सुर्खेतमा ट्युसन जान निस्किएकी किशोरी मृत फेला, घटनामा चार जना पक्राउ



सुर्खेतको वीरेन्द्रनगर मा ट्युसन पढ्न घरबाट निस्किएकी १६ वर्षीया किशोरी मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा फागुन २३ गते गुर्भाकोट नगरपालिका–६ घर भई वीरेन्द्रनगरको उषा बालबाटिका विद्यालय मा कक्षा ११ मा अध्ययनरत इनिसा विक बेहोस अवस्थामा भेटिएकी थिइन्।

उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गर्दै कर्तव्य ज्यान र जबरजस्ती करणीसम्बन्धी उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।

प्रहरीका अनुसार घटनाकै दिन फागुन २३ गते एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका क्रममा फागुन २४ गते अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ।

घरपरिवारका अनुसार इनिसा फागुन २३ गते बिहान करिब ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। प्रहरीले भने जनजागरण सामुदायिक वन क्षेत्रमा फेला पर्दा उनको शरीर रक्ताम्मे अवस्थामा रहेको जनाएको छ।

प्रहरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ।

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार