२०८३ वैशाख ४ , शुक्रबार
इनिशा हत्या प्रकरण:

इनिशा विक हत्या प्रकरण: अनुसन्धान अन्तिम चरणमा, ल्याब प्रतिवेदनको प्रतीक्षा



सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले स्थलगत अनुसन्धान सम्पन्न गरी काठमाडौं फर्किसकेको छ भने अब बाँकी केही प्रयोगशाला (ल्याब) प्रतिवेदनको प्रतीक्षा भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

२३ फागुनमा मृत्यु भएकी इनिशाको शव १८ दिनदेखि कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको छ। गुर्भाकोट नगरपालिका-६ बडाखोली स्थायी घर भएकी उनी परिवारसँग वीरेन्द्रनगर नगरपालिका-१ मा बस्दै आएकी थिइन्। फागुन २३ गते बिहान करिब ६ बजे ट्युसन पढ्न भन्दै घरबाट निस्किएकी इनिशा बिहान करिब ९ बजे वीरेन्द्रनगर-४ अन्तर्गत जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। उनलाई तत्काल प्रदेश अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले घटनास्थलबाटै एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो। उनले आफू इनिशाको प्रेमी भएको बताएका छन्। परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै चार जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। सोही आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुख्य घटनामा अन्य तीन जनाको प्रत्यक्ष संलग्नता पुष्टि नभए पनि घटनापछि आवश्यक सूचना समयमै नदिएको लगायतका आधारमा उनीहरूमाथि पनि मुद्दा चलाउने तयारी गरिएको छ। तर, ती तीन जनाका परिवारले भने उद्धारका लागि घटनास्थल पुगेकालाई फसाउन खोजिएको आरोप लगाउँदै आएका छन्।

यता, पीडित परिवारले दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने अडान लिएको छन्। ‘छोरी गुमाइसकेका छौं, अब न्याय नपाई शव बुझ्ने कुरा आउँदैन,’ मृतकका बुवा इन्द्रबहादुर विकले बताएका छन्। उनले अनुसन्धान प्रक्रियामा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

रोजगारीका लागि दुबईमा रहेका उनी बिदा सकिन लाग्दा पनि छोरीको दाहसंस्कार गर्न नसकेको बताउँछन्।

घटनाको गाम्भीर्यतालाई ध्यानमा राख्दै सुर्खेत प्रहरीले फागुन २८ गते सीआईबीको सहयोग मागेको थियो। हालसम्म जिल्ला प्रहरी कार्यालय, सीआईबीसहित चारवटा टोलीले अनुसन्धान गरिसकेका छन्।

प्रहरीका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार पोस्टमार्टम, डिजिटल तथा प्रारम्भिक फरेन्सिक प्रतिवेदन प्राप्त भइसकेका छन् भने टक्सिकोलोजिकल, भिसेरा र बायो–सेरोलोजिकल प्रतिवेदन आउन बाँकी छन्। ती प्रतिवेदन प्राप्त भएपछि अनुसन्धान निष्कर्षमा पुग्ने र मुद्दा सरकारी वकिल कार्यालयमा बुझाइने उनले जानकारी दिए।

पोस्टमार्टम प्रतिवेदनअनुसार बलपूर्वक शारीरिक सम्बन्धपछि संवेदनशील अंगमा गम्भीर चोट लागी अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ। प्रहरीका अनुसार मुख्य आरोपी भनिएका किशोरले सहमतिमै शारीरिक सम्बन्ध भएको दाबी गरेका छन् भने त्यसपछि अत्यधिक रक्तस्राव भई इनिशा अचेत भएपछि साथीहरूलाई बोलाएको बयान दिएका छन्।

अन्य तीन जनाले भने आफूहरू सहयोगका लागि घटनास्थल पुगेको बताएका छन्। प्रहरीले बयान, सीसीटीभी फुटेज र कल विवरणबीचको टाइमलाइन मिलेको दाबी गर्दै अनुसन्धान लगभग पूरा भइसकेको जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत १० गते मंगलबार