सुर्खेतको वीरेन्द्रनगरमा व्यावसायिक रूपमा सुरु गरिएको स्ट्रबेरी खेती यतिबेला चर्चाको केन्द्र बनेको छ। वैदेशिक रोजगारी र सरकारी जागिरको विकल्प खोज्दै कृषिमा होमिएका दाजुभाईले ‘शुभ कृषि फार्म’ मार्फत जिल्लामै नयाँ प्रयोग सफल पारेका छन् ।
धनकुटाको पाख्रीवासबाट कृषि विज्ञानमा स्नातक गरेका रोशन सिंह विक र उनका दाजु चेतन विश्वकर्मा मिलेर यो फार्म सञ्चालनमा ल्याएका हुन् । विगत ५ वर्षदेखि ड्र्यागन फ्रुट खेतीमा अनुभव बटुलेका यी दाजुभाइले यस वर्ष करिब ९ देखि १० कठ्ठा जग्गामा स्ट्रबेरी लगाएका छन् ।
्सुरुवाती पूर्वाधार र बिरुवा खरिदमा मात्रै उनीहरूको करिब १६ देखि १७ लाख रुपैयाँ लगानी भइसकेको उनीहरुले बताए ।
यो खेतीलाई सफल बनाउन उनीहरूले आधुनिक प्रविधिको प्रयोग गरेका छन्। फार्ममा थोपा सिचाई जडान गरिएको छ भने बिरुवामा अर्गानिक मलको प्रयोगलाई प्राथमिकता दिइएको छ ।
स्ट्रबेरी निकै संवेदनशील फल भएकाले यसलाई रोग र किराबाट जोगाउन निरन्तर रेखदेख र प्राविधिक ज्ञानको आवश्यकता पर्ने सञ्चालक रोशन बताउँछन् । अहिले फागुन, चैत र वैशाख महिना स्ट्रबेरी पाक्ने मुख्य सिजन हो र गर्मी बढेसँगै फल छिटो पाक्ने गर्दछ ।
बजार र आम्दानीको अवस्था
फार्मबाटै स्ट्रबेरी बिक्री भइरहेको छ। धेरै परिमाणमा खरिद गर्नेलाई प्रति केजी ६५० रुपैयाँ र थोरै खरिद गर्नेलाई ७०० रुपैयाँ सम्ममा बिक्री गर्ने गरिएको छ । बजारको मध्य भागमा फार्म रहेकाले उपभोक्ताहरू आफैँ फार्ममै पुग्ने गरेका छन्।
याे फल निकै कलिलो र छिटो बिग्रने प्रकृतिको हुने भएकाले बिहान टिपेको फल बेलुकासम्म बेचिसक्नुपर्ने ठुलो जोखिम रहेको कृषकको अनुभव छ । विशेषगरी पानी परेमा वा बजार व्यवस्थापन नभएमा लगानी डुब्ने डर हुन्छ।
सामाजिक सञ्जाल र पर्यटनको आकर्षण
अहिले यो फार्म केवल फलफूल उत्पादन गर्ने ठाउँ मात्र नभई पर्यटकीय गन्तव्य जस्तै बनेको छ। राताम्मे पाकेका स्ट्रबेरीका साथमा फोटो खिच्ने र टिकटक बनाउनेहरूको यहाँ ठुलो भीड लाग्ने गरेको छ । सामाजिक सञ्जालमा भाइरल भएपछि टाढा-टाढाबाट मानिसहरू स्ट्रबेरी हेर्न र स्वाद लिन आउने गरेका छन् । सञ्चालक चेतनका अनुसार यो फल बालबालिकाका लागि निकै स्वास्थ्यवर्द्धक (एन्टिअक्सिडेन्टयुक्त) र चक्लेटको राम्रो विकल्प हुने भएकाले अभिभावकहरूको आकर्षण बढेको हो ।
सरकारी सहयोग र भविष्यको योजना
यस कृषि उद्यमलाई प्रोत्साहित गर्न कृषि विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले पनि सहयोग रहेकाे उनले बताए । ताजा फल मात्र बिक्री गरेर जोखिम मोल्नुभन्दा स्ट्रबेरीलाई औद्योगिक प्रशोधनमार्फत जाम र जुस जस्ता उत्पादन बनाएर बजारीकरण गर्ने दीर्घकालीन योजना रहेको छ।











प्रतिक्रिया दिनुहोस्