२०८३ वैशाख ४ , शुक्रबार

कर्णाली खेलकुद परिषद्को सदस्य सचिवमा रविन्द्र चन्द नियुक्त



कर्णाली प्रदेश सरकारले रविन्द्र चन्द लाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो।

यसअघि सदस्य-सचिव छनोट समितिले गत माघ ३ गते अन्तर्वार्ता लिएर तीन जनाको नाम सिफारिस गरेको थियो।

सिफारिस सूचीमा रविन्द्र चन्द, दीपक हमाल र प्रमोद हमाल रहेका थिए। मूल्यांकनका आधारमा चन्दले सर्वाधिक ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक हासिल गरेका थिए।

सदस्य–सचिव पदका लागि प्रारम्भमा २१ जनाले आवेदन दिएका थिए, जसमध्ये १० जनालाई अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।

अन्तर्वार्ता र समग्र मूल्यांकनका आधारमा उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको थियो।

सोही सिफारिसमध्येबाट चन्दलाई सदस्य सचिवमा नियुक्त गरिएको सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए।

उपाध्यक्षमा प्रमोद हमाल नियुक्त

यसैगरी, उपाध्यक्षमा वीरेन्द्रनगर नगरपालिका ५ सुर्खेतका प्रमोद हमाल नियुक्त भएका छन् ।

सदस्यहरुमा खाँडाचक्र  ७ कालीकोटका पंखबहादुर मल्ल, वीरेन्द्रनगर नगरपालिका ३ सुर्खेतका भीमकुमारी भुसाल, चंखेली गाउँपालिका ४ हुम्लाका गोर्खबहादुर शाही, दुल्लु नगरपालिका ८ दैलेखका पवनकुमार थापा र वीरेन्द्रनगर नगरपालिका ४ सुर्खेतका किरणकिशोर सापकोटालाई मनोनयन गर्ने निर्णय  प्रदेश सरकारले गरेको छ।

प्रकाशित मिति : २०८२ चैत १२ गते बिहीबार