राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आजसम्म कुनै पनि राजनीतिक नेतृत्वले कर्णालीको वास्तविक अवस्था र सम्भावनालाई गहिराइमा बुझ्न नसकेको बताएका छन्।

बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले देशको सबैभन्दा ठूलो रारा ताल, सबैभन्दा लामो कर्णाली नदी, ठूलो जिल्ला डोल्पा तथा ठूलो भूगोल भएको कर्णालीको सम्भावना भए पनि त्यसअनुसार विकास हुन नसकेको उल्लेख गरे। उनले कर्णालीको वास्तविकता बुझ्ने पार्टी रास्वपा भएको दाबी गरे।
शाहले डोल्पामा पाइने बहुमूल्य यार्सागुम्बा विश्व बजारसम्म पुग्न सक्ने भए पनि कर्णालीमा उत्पादन हुने स्याउलगायत कृषि उपज देशभर सहज रूपमा नपुग्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरे। कर्णालीका उत्पादनलाई राष्ट्रिय बजारसँग जोड्ने नीति लिइने उनले बताए।
सिंजा सभ्यताको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उनले सिंजा उपत्यकालाई नेपाली भाषा र खस सभ्यताको उद्गमस्थलका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिए।
भाषा, लिपि, कला, संस्कृति, नाचगान र जात्राको संरक्षणमार्फत इतिहास र पहिचान जोगाउनुपर्ने उनको भनाइ थियो।
उनले कर्णालीमा अझै पनि भोकमरी, बालमृत्युदर र मातृमृत्युदर उच्च रहेको उल्लेख गर्दै यहाँको गरिबी र समस्या सही रूपमा बुझ्ने नेतृत्वको अभाव रहेको बताए।
कर्णालीका जनताको सपना अब रास्वपाको सपना भएको उल्लेख गर्दै उनले परिवर्तनको यात्रा कर्णालीबाट सुरु भएको दाबी गरे।











प्रतिक्रिया दिनुहोस्