२०८३ वैशाख ४ , शुक्रबार

हुम्लामा चुनावी माहोल तातिँदै : घरदैलो अभियान तीव्र, मतदाता संयमित



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हुम्लामा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त छन् ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा पुराना राजनीतिक दलहरू परम्परागत शैलीमै चुनावी अभियानमा सक्रिय देखिएका छन् भने, वैकल्पिक शक्तिको रुपमा स्थापित भै मुलधारको राजनैतिक शक्तिका रुपमा उदाउने दाबी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि जिल्लाका पाँचवटै पालिकामा घरदैलो कार्यक्रमलाई तीव्र बनाएको छ ।

हुम्लाकै मुख्यदलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुने आँकलन गरिए पनि यसपटक चुनावी मैदानमा युवापुस्ताको उपस्थिति र दलहरूबीचको एकल प्रतिस्पर्धाले चुनावलाई थप रोचक बनाएको छ ।

अघिल्ला निर्वाचनमा देखिएको चुनावी सहकार्यको परिपाटी तोड्दै दलहरू यसपटक एक्लाएक्लै मैदानमा उत्रिएका छन् ।

उम्मेदवारहरू उत्साहका साथ घरदैलो अभियानमा लागे पनि मतदातामा भने अपेक्षित उत्साह देखिएको छैन । अघिल्ला दुई निर्वाचनको तुलनामा यसपटकको प्रतिस्पर्धा कडा र रोचक हुने आकलन देखिएको छ ।

२०७९ को मत परिणाम, कुन दलको कति ?

२०७९ सालको समानुपातिक मत परिणामअनुसार हुम्लामा पहिलो दलका रूपमा नेपाली कांग्रेस रहेको थियो । कांग्रेसले ८ हजार १ सय ९२ मत प्राप्त गरेको थियो भने दोस्रो स्थानमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ७ हजार ३ सय ६३ मत प्राप्त गरेकोे थियो ।

देशभर समानुपातिकतर्फ पहिलो दल बनेको एमाले हुम्लामा भने तेस्रो स्थानमा सीमित रह्यो । एमालेले ५ हजार ९ सय ७ मत प्राप्त गरेको थियो । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) चौथो स्थानमा १ हजार २१ मत ल्याएकोे थियो ।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी समाजवादी) ले ७ सय ४७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ सय ९०, मितेरी पार्टी नेपालले ३ सय ४ र रास्वपाले १ सय ७१ मत प्राप्त गरेको थियो ।

२०४६ पछिका निर्वाचन : बदलिँदो शक्ति सन्तुलन
२०४६ सालमा बहुदलीय व्यवस्था पुनस्र्थापनापछि भएका संसदीय निर्वाचनहरूले हुम्ला जिल्लाको राजनीति कुनै एक दलमा सीमित नरहेको स्पष्ट देखाएको छ ।

२०४८ देखि २०७९ सालसम्मका निर्वाचन परिणाम हेर्दा संयुक्त जनमोर्चा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) तथा स्वतन्त्र उम्मेदवारले पालैपालो जित हासिल गरेका छन् ।

यसले हुम्लाका मतदाताले दलभन्दा पनि समय, परिस्थिति र उम्मेदवारको व्यक्तित्वलाई प्राथमिकतामा राख्दै निर्णय गर्ने प्रवृत्ति देखाएको संकेत गर्छ ।
बहुदलपछिको पहिलो आम निर्वाचन २०४८ मा संयुक्त जनमोर्चा नेपालका छक्कबहादुर लामा ४ हजार ६ सय ९५ मतसहित निर्वाचित भएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चक्रबहादुर शाही ४ हजार ६ सय ८७ मतसहित केवल ८ मतले पराजित भएका थिए ।

२०५१ सालको मध्यावधि निर्वाचनमा कांग्रेसका शाही ७ हजार ८ सय ८७ मतसहित विजयी भए । स्वतन्त्र उम्मेदवार अंगबहादुर लामाले ६ हजार ९ सय २० मत प्राप्त गर्दा एमालेका गोरखबहादुर बोगटीले ५ हजार ७ सय १९ मत ल्याएका थिए ।

दुई पटक पराजित भएका बोगटीले २०५६ सालमा ११ हजार ८ सय ७९ मतसहित विजय हासिल गरे । कांग्रेसबाट टिकट नपाएर बागी उम्मेदवार बनेका शाहीले ७ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए भने राष्ट्रिय जनमोर्चाका सोनाम गुरुङले ९ सय ६२ मत ल्याएका थिए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका कर्णजित बुढाथोकी १३ हजार ३ सय १८ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जीवनबहादुर शाहीले ५ हजार १ सय ९६ मत पाए भने एमालेका बोगटीले ३ हजार २ सय ९० मत प्राप्त गरेका थिए ।

२०७० सालको निर्वाचनमा कांग्रेसका जीवनबहादुर शाही ८ हजार ३ सय ३२ मतसहित विजयी भए ।
एमालेका दल रावलले ४ हजार ९ सय ३९ र माओवादीका छक्कबहादुर लामाले ३ हजार ४ सय ७५ मत प्राप्त गरेका थिए ।

२०७४ सालमा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामा ८ हजार ४ सय ९१ मतसहित निर्वाचित भए । कांग्रेसका मंगलबहादुर शाही ८ हजार ४ सय ४४ मतसहित ४७ मतले पराजित भएका थिए ।
त्यसबेला एमाले र माओवादीबीच एकता भई नेकपा बनेको थियो, तर नेकपाका उम्मेदवार छिमिदोर्जे लामालाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार लामाले बाजी मारेका थिए । प्रदेशसभा ‘क’ मा नेकपाका दल रावल ७ हजार १ सय ५८ मतसहित विजयी हुँदा कांग्रेसका ठानबहादुर रोकाया ४ हजार ८ सय ११ मतसहित पराजित भए ।

प्रदेशसभा ‘ख’ मा कांग्रेसका जीवनबहादुर शाही ४ हजार ५ सय १९ मतसहित विजयी भए भने नेकपाका विजय भण्डारी ३ हजार ९ सय ९५ मतसहित पराजित भए ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिरिङ दम्डुल लामा (कार्चेन) १४ हजार ३ सय ७१ मतसहित निर्वाचित भए भने एमालेका दल रावल ९ हजार ५ सय १६ मतसहित दोस्रो स्थानमा रहे ।

प्रदेशसभा ‘क’ मा गठबन्धनका रणसिंह परियार ६ हजार ४ सय ८१ मतसहित विजयी भए भने कांग्रेसबाट बागी उठेका स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही ४ हजार ६ सय ३० मतसहित प्रमुख प्रतिस्पर्धी बने ।

प्रदेशसभा ‘ख’ मा गठबन्धनका जीवनबहादुर शाही ७ हजार ५६ मतसहित विजयी हुँदा एमालेका छक्कबहादुर लामा २ हजार ९ सय ७९ मतसहित पराजित भए ।
२०४६ पछिका सात निर्वाचनले हुम्लाको राजनीति निरन्तर परिवर्तनशील, प्रतिस्पर्धात्मक र शक्ति सन्तुलनमा आधारित रहेको देखाउँछ ।

यहाँका मतदाताले स्थायी राजनीतिक वर्चस्वभन्दा पनि समयअनुकूल विकल्प रोज्ने प्रवृत्ति निरन्तर देखाएका छन् ।

नयाँ दलका युवाको चुनौती
यसपटकको निर्वाचनमा परम्परागत दलका उम्मेदवारसँगै नयाँ दलका युवा उम्मेदवारले चुनौती दिने देखिन्छ । कांग्रेसबाट जयपति रोकाया, एमालेबाट दल फडेरा, नेकपाबाट डा. दीपेन्द्र रोकाया र रास्वपाबाट टासी ल्हाजोम उम्मेदवार छन् ।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट जटिल कार्की, माओवादीबाट कुम्भ बुढा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा प्रतिस्पर्धामा छन् ।

हरेक निर्वाचनमा मतपरिणाम फेरबदल गर्दै आएको हुम्लामा यसपटक कसले मतदाताको विश्वास जित्ला भन्ने विषयमा सर्वत्र चासो देखिएको छ । चुनावी मैदानमा पुराना शक्ति र नयाँ पुस्ताबीचको प्रतिस्पर्धाले फागुन २१ को निर्वाचन रोचक बन्ने देखिन्छ ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार