तीन दशकभन्दा बढी समय सुर्खेत क्षेत्र नम्बर १ को चुनावी राजनीति पूर्णबहादुर खड्काकै वरिपरि घुमिरह्यो ।

२०४८ सालदेखि कहिले प्रत्यक्ष त कहिले समानुपातिक सांसद बनेका खड्का यसपटक भने चुनावी भिडन्तबाट बाहिरिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी उम्मेदवार नबनेसँगै सुर्खेत क्षेत्र नम्बर १ को राजनीति नयाँ मोडमा पुगेको छ ।
पूर्वउपप्रधानमन्त्री, गृह तथा रक्षामन्त्री समेत भइसकेका खड्काले खाली गरेको मैदानमा भने उनकै परिवारको अर्को सदस्य उत्रिएका छन् ।
उनका कान्छा भाइ विष्णुबहादुर खड्का नेपाली काँग्रेसबाट उम्मेदवार बनेका छन् ।
पार्टीको आन्तरिक विवाद र त्यससँग जोडिएका कानुनी झमेलाबीच पूर्णबहादुरले चुनाव नलड्ने निर्णय गरेका हुन् ।
रोचक कुरा के छ भने, निर्वाचनमा नउत्रिने घोषणा गरिसके पनि काँग्रेसले सुर्खेत क्षेत्र नम्बर १ बाट उनलाई प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिस गरेको थियो ।
दाइ अदालत धाइरहँदा भाइ भने चुनावी मैदानमा छन् । यसले खड्का परिवारभित्रै सत्ता हस्तान्तरणको संकेत गरेको छ ।
शाहीको पुनरागमन, बदला लिने रणनीति
यता नेकपा एमालेले २०७९ सालको निर्वाचनमा पूर्णबहादुर खड्कासँग पराजित भएका ध्रुवकुमार शाहीलाई पुनः उम्मेदवार बनाएको छ ।
शाही अघिल्लो निर्वाचनको हारलाई उल्ट्याउने रणनीतिसहित मैदानमा उत्रिएका छन् । उनी एमाले कर्णाली प्रदेश कमिटी सचिवसमेत हुन् ।
पूर्णबहादुर खड्काको चुनावी इतिहास लामो छ । उनले २०४८, २०५१ र २०५६ सालमा सुर्खेत क्षेत्र नम्बर १ बाट लगातार तीनपटक जित निकाल्दै राजनीतिक पकड जमाएका थिए ।
२०६४ सालमा प्रत्यक्ष चुनाव नलडे पनि समानुपातिक सांसद बनेका उनी २०७० सालमा पुनः प्रतिस्पर्धामा फर्किए ।
२०७४ सालको निर्वाचनमा भने तत्कालीन वाम गठबन्धनका उम्मेदवार शाहीसँग ३ हजार ३८२ मतले पराजित भए । तर २०७९ सालमा खड्काले शाहीलाई पराजित गर्दै ४२ हजार ६०७ मतसहित जित हात पारे ।
नयाँ अनुहार, पुरानो विरासत
यसपटक काँग्रेसको टिकट पाएका विष्णुबहादुर खड्का पेशाले व्यवसायी हुन् । वीरेन्द्रनगरमा पेट्रोल पम्प, यातायात व्यवसाय सञ्चालन गर्दै आएका उनी युवा
व्यवसायीहरूमाझ लोकप्रिय मानिन्छन्। उनी नेपाली काँग्रेस जिल्ला समिति सुर्खेतका उपसभापति पनि हुन् ।
काँग्रेस-एमालेबाहेक नेपाली कम्यूनिष्ट पार्टी नेकपाबाट युद्धकालीन लडाकु जीतबहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट जेन-जी अभियन्ता रविकिरण हमाल, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट टेकबहादुर सिंह तथा उज्यालो नेपाल पार्टीबाट ठम्मर विष्टसहित १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
२०७९ कसको कत्ति मत ?
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्दा सुर्खेत क्षेत्र नम्बर १ मा काँग्रेस अग्रस्थानमा देखिन्छ ।
सिम्ता गाउँपालिका, गुर्भाकोट, भेरीगंगा, चिङ्गाड, लेकबेँशी नगरपालिका तथा वीरेन्द्रनगर–१५ र १६ वडा समेटिएको यस क्षेत्रमा काँग्रेसका पूर्णबहादुर खड्काले ४२ हजार ६ सय सात मत ल्याएर विजय भएका थिए, भने नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९ सय ६८ मत ल्याएर पराजित भएका थिए ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले ८ सय ९७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छत्रपत्ति थापा क्षेत्रीले ६ सय ५३ मत प्राप्त गरेका थिए ।











प्रतिक्रिया दिनुहोस्