नेपाल कम्युनिष्ट पार्टी (एमाले) हुम्लाले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि विकास, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। ‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ।

प्रतिबद्धता–पत्रमा हुम्लाको भौगोलिक विकटता र विकासमा पछाडि परेको अवस्थालाई ध्यानमा राखिएको उल्लेख छ। सडक, यातायात, बिजुली, शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार र पर्यटन क्षेत्रको विकासमार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य एमालेले लिएको जनाएको छ।
एमालेले कर्णाली करिडोरको स्तरोन्नति, सिमकोटदेखि गाउँगाउँसम्म सडक विस्तार, हवाई र स्थल यातायातलाई सहज र सुरक्षित बनाउने योजना अघि सारेको छ। साथै जिल्लामा विद्युत् उत्पादन र प्रसारण लाइन विस्तार गरी ‘विधुतिकरण सहित उज्यालो हुम्ला’ बनाउने प्रतिबद्धता जनाएको छ।
शिक्षा क्षेत्रमा गुणस्तरीय विद्यालय र प्राविधिक शिक्षाको पहुँच बढाइने, युवालाई सीपमूलक तालिम दिएर रोजगारी सिर्जना गरिने उल्लेख छ। स्वास्थ्य क्षेत्रमा आधारभूतदेखि विशेषज्ञ सेवासम्म जिल्लामै उपलब्ध गराउने र स्वास्थ्य संस्थालाई बलियो बनाउने योजना समेटिएको छ।
कृषि, पशुपालन, जडीबुटी र पर्यटनको विकासमार्फत स्थानीय आम्दानी बढाइने र आर्थिक गतिविधि विस्तार गरिने एमालेको भनाइ छ। साथै सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीमार्फत हुम्लालाई समृद्ध बनाउने प्रतिबद्धता पार्टीले जनाएको छ। प्रतिबद्धता–पत्रमा उल्लेखित कार्यक्रम कार्यान्वयनका लागि जनताको साथ आवश्यक रहेको भन्दै सूर्य चिन्हमा मतदान गर्न एमाले हुम्लाले मतदातासँग अपिल गरेको छ।











प्रतिक्रिया दिनुहोस्