२०८३ वैशाख ४ , शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

कर्णालीका १२ निर्वाचन क्षेत्रमा १३४ जनाको उम्मेदवारी, स्वतन्त्रबाट १३ जना चुनावी मैदानमा



आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशका १० जिल्लामा मंगलबार शान्तिपूर्ण रूपमा उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमा १३४ जनाको उम्मेदवारी परेको छ । जसमा १३ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जिल्ला–जिल्लामा रहेका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

कर्णाली प्रदेशमा प्रतिनिधिसभाका १२ वटा निर्वाचन क्षेत्र रहेका छन् । ती निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, उज्यालो नेपाल पार्टीलगायतका दलहरूको सहभागिता देखिएको छ । तोकिएको समयअनुसार दलहरूले बाजागाजा र कार्यकर्ताको उपस्थितिमा उत्साहपूर्ण वातावरणमा मनोनयन दर्ता गरेका थिए ।

सुर्खेतका दुई क्षेत्रमा ३० उम्मेदवार

कर्णाली प्रदेशको राजधानी सुर्खेतका दुई निर्वाचन क्षेत्रमा गरी ३० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं. १ मा १३ जना र निर्वाचन क्षेत्र नं. २ मा १७ जनाको मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुर्खेत–१ मा नेपाली कांग्रेसबाट विष्णु खड्का, नेकपा (एमाले)बाट ध्रुवकुमार शाही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट जीतबहादुर राना, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट टेकबहादुर सिंह ठकुरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रविकिरण हमाल, नेपाल मजदुर किसान पार्टीबाट गजबहादुर खप्तडी, नेकपा माओवादीबाट हिरु शाही र राष्ट्रिय जनमोर्चाबाट मोहन थापाले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै म संस्कृति पार्टीबाट वीरबहादुर राना, आम जनता पार्टीबाट रेशम सेञ्चुरी, जनता समाजवादी पार्टी नेपालबाट धनसिंह सार्की, उज्यालो नेपाल पार्टीबाट ठम्मरबहादुर विष्ट र मितेरी नेपालबाट प्रकाश बुढा मगरले उम्मेदवारी दर्ता गराएका छन् ।

‘सुर्खेत–२ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट झकबहादुर मल्ल, नेपाली कांग्रेसबाट नारायणकुमार कोइराला, नेकपा (एमाले)बाट कुलमणि देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविराम पुरी, उज्यालो नेपाल पार्टीबाट गम्भीरसिंह भुल, नेपाल मजदुर किसान पार्टीबाट तुल्छी खड्का, जनता समाजवादी पार्टी नेपालबाट दीपबहादुर नेपाली, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट धर्मराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पवन थापा मगर र राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।

त्यस्तै त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)बाट प्रेमबहादुर तारामी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रमेशकुमार सापकोटा, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रामजाली र नेपाल जनसेवा पार्टीबाट हृदयन्द्र अधिकारी र तीन स्वतन्त्र उम्मेदवार रमेश परियार, कृष्ण खत्री र उदीराम चुनाराले पनि मनोनयन दर्ता गराएका छन् ।

हुम्लामा ८ दलका उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्ला जिल्लाबाट हालसम्म आठ राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हुम्लाका नेता छक्क बुढाले सबैभन्दा पहिले मनोनयन दर्ता गरेका थिए ।

एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेकपा (एमाले)बाट दल फडेराले उम्मेदवारी दर्ता गरेका छन् । त्यसपछि, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले डा. दिपेन्द्र रोकायाले, नेकपा (माओवादी)बाट कुम्भ बुढा (निर्माण सी), नेपाली कांग्रेसबाट जयपति रोकाया, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट २६ वर्षीय टासी ल्हाजोम लामा, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट जटिल कार्की र मितेरी नेपाल पार्टीबाट जयबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन् ।

कालिकोटमा १३ जनाको उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालिकोट जिल्लामा १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले जनाएको अनुसार नेपाली कांग्रेसबाट हर्षबहादुर बम, नेकपा (एमाले)बाट नगीन्द्र शाही ‘नेशनल’ तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट महेन्द्रबहादुर शाहीले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रकाश न्यौपाने उम्मेदवार बनेका छन् । नेपाल मजदुर किसान पार्टीबाट नन्दबहादुर शाही, नेकपा (माओवादी)बाट खड्गबहादुर विश्वकर्मा तथा राष्ट्रिय जनमोर्चाबाट अजय गिरीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट धर्मराज न्यौपाने र देशभक्त पार्टीबाट प्रेमसिंह तिरुवाले मनोनयन दर्ता गराएका छन् । स्वतन्त्रतर्फ जीवन बुढा, भुपेन्द्रजंग शाही, मानबहादुर तिरुवा र अस्मिनकुमार विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

जाजरकोटमा ११ दलबीच प्रतिस्पर्धा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जाजरकोट जिल्लामा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) का डम्बरबहादुर सिंह, नेपाली कांग्रेसका खडकबहादुर वढुा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कृष्ण बिक्रम शाह, राष्ट्रिय जनमोर्चाका रत्नबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका धनीराम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका कमान बढा मगर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राघव काकी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शक्ति बहादुर वस्नेत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का मेघबहादुर ओली, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का बलबहादुर मल्ल र उज्यालो नेपाल पार्टीका कर्णबहादुर नेपाली रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार सबै उम्मेदवारले उत्साहपूर्ण वातावरणमा मनोनयन दर्ता गरेका थिए । यसपटक जाजरकोटमा अनुभवी नेतासँगै नयाँ अनुहारहरूको पनि सहभागिताले चुनावी प्रतिस्पर्धा रोचक बनाउने अपेक्षा गरिएको छ ।

डोल्पामा ९ जनाले उम्मेदवारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पामा आज ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभा एकमात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा दलगत रूपमा धन बहादुर बुढा (नेकपा), कर्ण बहादुर बुढा (नेपाली कांग्रेस), लंक बहादुर रोकाया (नेकपा एमाले), देवसिंह ऐडी (रास्वपा), हरिप्रसाद डाँगी (राप्रपा), विकास बुढा (प्रलोपा), दिलबहादुर विष्ट (उज्यालो नेपाल पार्टी) र जुनु भण्डारी (मितेरी नेपाल पार्टी)ले मनोनयन दर्ता गरेका छन् ।

स्वतन्त्र उम्मेदवारका रूपमा ओमेन्द्र केसीले दर्ता गराएका छन् । निकै प्रतिस्पर्धात्मक यो क्षेत्रमा लगातार जित्दै आएको नेकपाका धन बहादुर, उनका सहोदर दाई कांग्रेसका कर्ण बहादुर र एमालेका लंकबीच मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

सल्यानमा १६ जनाले उम्मेदवारी

सल्यानमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतका अनुसार पुराना दल, नयाँ दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।

उम्मेदवारमा नेपाली कांग्रेसका केशबहादुर विष्ट, नेकपा एमालेका गुलावजंग शाह, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रमेशकुमार मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ललितकुमार चन्द, नेकपा माओवादीका चन्द्रबहादुर खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिशा नेपाली छन् ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट डिल्लीबहादुर घर्ती, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्तोषकुमार राई, आम जनता पार्टीबाट मानसिंह कामी र स्वतन्त्र नागरिक पार्टीबाट कालिदास विक उम्मेदवार बनेका छन् भने, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, मंगोल नेशनल अर्गनाइजेशनबाट बाँलसिंह घर्ती र श्रम संस्कृति पार्टीबाट धनबहादुर बुढा मगरले पनि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रतर्फबाट ध्रुवराज वली र जुद्धबहादुर सिंह चुनावी मैदानमा उत्रिएका छन् ।

रुकुमपश्चिम १२ जनाले उम्मेदवारी

रुकुम पश्चिममा आगामी फागुन २१ गतेका लागि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार १२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । यस पटक उम्मेदवारी दर्ता गर्ने सबै दलका उम्मेदवार हुन् भने स्वतन्त्र उम्मेदवारको सहभागिता छैन ।

दर्ता गराउने उम्मेदवारमा प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा (प्रभाकर), राष्ट्रिय जनमोर्चा का सत्यनारायण श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा अनल, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, नेकपा एमालेका नन्दराम देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही, नेपाली कांग्रेसका राजु केसी, नेकपा माओवादीका चन्द्र बुढा, नेकपा संयुक्तका शेरबहादुर केसी, उज्यालो नेपाल पार्टीका नरेन्द्र केसी र आम जनता पार्टीका प्रेमा दमाई रहेका छन् ।

जुम्लामा १० जनाको उम्मेदवारी

जुम्ला जिल्लामा एक जना स्वतन्त्रसहित कुल १० जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एमाले)बाट शान्तिलाल महत, नेपाली कांग्रेसबाट दीपबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बिनिता कठायत तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञानबहादुर शाही उम्मेदवार बनेका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टीबाट विर्खबहादुर रावत, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट मनऋषि धिताल, नेपाल जनता पार्टी (नेजपा)बाट रनिल विक्रम शाही र नेकपा (माओवादी)बाट विर्खबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रतर्फ भक्तबहादुर रावल उम्मेदवार बनेका छन् ।

मुगुमा ७ जनाबीच प्रतिस्पर्धा

मुगु जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुका अनुसार नेपाली कांग्रेसबाट खडकबहादुर शाही, नेकपा (एमाले)बाट पूर्णबहादुर रोकाया, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चन्दबहादुर शाही तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट भुवन टमटा उम्मेदवार बनेका छन् ।

यसैगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट संगम परियार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बलबहादुर मल्ल तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट ऐटन मल्लले पनि मनोनयन दर्ता गराएका छन् ।

दैलेखमा १८ जनाको उम्मेदवारी

दैलेख जिल्लामा दुई जना स्वतन्त्रसहित कुल १८ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले)बाट रविन्द्रराज शर्मा, नेपाली कम्युनिस्ट पार्टीबाट अम्मरबहादुर थापा, नेपाली कांग्रेसबाट बासना थापा, राष्ट्रिय जनमोर्चाबाट नरबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट जगतबहादुर वली, नेकपा (माओवादी केन्द्र)बाट रामलाल विश्वकर्मा, राप्रपा नेपालबाट रणबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नन्दकिशोर बस्नेत र आम जनता पार्टीबाट मेनका श्रेष्ठ उम्मेदवार बनेका छन् । स्वतन्त्रतर्फ नारायण नगरपालिका–१० का लोकबहादुर बोगटी उम्मेदवार रहेका छन् ।

निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)बाट लक्ष्मीप्रसाद पोखरेल, नेपाली कम्युनिस्ट पार्टीबाट योगेन्द्रबहादुर शाही, नेपाली कांग्रेसबाट दिक्पालकुमार शाही, राष्ट्रिय जनमोर्चाबाट कमलबहादुर बरै मगर, नेपाल मजदुर किसान पार्टीबाट बखतबहादुर थापा, नेकपा (माओवादी केन्द्र)बाट कलम सिंह, राप्रपा नेपालबाट बबिता कुमारी शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बखतबहादुर शाही, आम जनता पार्टीबाट तीर्था कुमारी बंशी मगर (विक) तथा स्वतन्त्र उम्मेदवार हिमबहादुर शाहीले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन कार्यतालिकाअनुसार आजै प्रारम्भिक नामावली प्रकाशन हुनेछ । माघ ७ गते बिहान १० बजेदेखि ३ बजेसम्म उजुरी दिन सकिनेछ भने माघ ८ गते साँझ ५–७ बजे अन्तिम नामावली प्रकाशित गरिने छ ।

उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय दिइनेछ । सोही दिन ३ बजेभित्र उम्मेदवारलाई चुनाव चिन्ह पनि वितरण गरिनेछ ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार