सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको नतिजामा प्राविधिक तथा प्रक्रियागत त्रुटि भएको भन्दै दुई जनाको नाम हटाएर नयाँ दुई जनालाई केन्द्रीय सदस्यमा समावेश गरेको छ।

चितवनमा सम्पन्न महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यको सूचीबाट हटाइएको छ। उनीहरूको स्थानमा क्रमशः ध्रुवकुमार थापामगर र पूजा बाँस्तोलालाई निर्वाचित घोषणा गरिएको छ।
रास्वपाको प्रथम महाधिवेशन असार ७ गतेदेखि १२ गतेसम्म चितवनमा सम्पन्न भएको थियो। महाधिवेशनबाट सभापतिमा रवि लामिछानेसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीका अनुसार उम्मेदवारहरूले बढी मत प्राप्त गरे पनि क्लस्टर मिलाउने क्रममा त्रुटि भएको गुनासो आएपछि आयोगले मत परिणाम, उम्मेदवारी दर्ताका कागजात र सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गरेको थियो।
निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार महाधिवेशन निर्वाचन कार्यविधि, २०८३ बमोजिम जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठलाई निर्वाचित घोषणा गरिएको थियो। तर, उम्मेदवारी दर्ताका कागजात तथा प्रमाणहरूको अध्ययनपछि ध्रुवकुमार थापामगर नै उक्त क्लस्टरबाट निर्वाचित हुनुपर्ने देखिएकाले उनलाई निर्वाचित घोषणा गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।
त्यस्तै, प्रादेशिक (भूगोलतर्फ) गण्डकी प्रदेशको मत परिणाममा पनि प्राविधिक त्रुटिका कारण पूजा बाँस्तोला निर्वाचित हुनुपर्नेमा सोम शर्माको नाम घोषणा भएको आयोगले स्वीकार गरेको छ। आवश्यक अध्ययनपछि बाँस्तोलालाई निर्वाचित घोषणा गरिएको अध्यक्ष केसीले जानकारी दिएका छन्।
यसैबीच, केन्द्रीय सदस्यको सूचीबाट आफ्नो नाम हटाइएपछि सोम शर्माले रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन्। उनले गण्डकी प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यको सूचीबाट आफ्नो नाम हटाइएको कारण स्पष्ट पार्न र निर्णय पुनर्विचार गर्न माग गर्दै उजुरी दर्ता गराएका छन्।









