नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा देशलाई अस्तव्यस्त बनाउँदै लगेको आरोप लगाएका छन्।
सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले विश्वविद्यालयदेखि विद्यालयसम्मको शैक्षिक क्षेत्र अव्यवस्थित बनेको दाबी गरे। विश्वविद्यालयका उपकुलपति (भीसी) नियुक्ति प्रक्रियामै अनियमितता भएको आरोप लगाउँदै उनले प्रधानमन्त्री र शिक्षामन्त्रीमाथि बार्गेनिङ गरेको आरोप समेत लगाए।
‘सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणको कुरा गर्छ। तर आज विश्वविद्यालयका भीसीहरू अन्तर्वार्ता दिइरहेका छन्। कसले कति बुझाउँछ भनेर प्रधानमन्त्री र शिक्षामन्त्री अलग–अलग व्यक्तिसँग बार्गेनिङ गरिरहेका छन्। यही हो सुशासन ?’ उनले प्रश्न गरे।
सांसद विष्टले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा कुनै राजनीतिक दललाई गाली गरेर मात्रै देश नबन्ने बताए। देश निर्माणका लागि राजनीतिक सहमति, संवाद र कूटनीतिक परिपक्वता आवश्यक पर्ने उनको भनाइ थियो।
उनले सुशासनको नाममा मुलुकलाई द्वन्द्व र विग्रहतर्फ धकेल्ने काम नगर्न सरकारलाई आग्रह गर्दै जिम्मेवार ढंगले शासन सञ्चालन गर्नुपर्नेमा जोड दिए।









