
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेका बेला प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाहले कुनै पनि पदमा उम्मेदवारी नदिएको विषय चर्चाको केन्द्र बनेको छ।
सभापति पदमा रवि लामिछाने सर्वसम्मत चयन भइसकेका छन् भने ९९ केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी परेको छ। तर उम्मेदवारहरूको सूचीमा बालेन शाहको नाम समावेश छैन।
पार्टीभित्र भएको पूर्वसहमतिअनुसार बालेनलाई महाधिवेशनपछि वरिष्ठ नेता पदमा मनोनीत गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। त्यसका लागि उनलाई पहिलो चरणमा केन्द्रीय सदस्यमा मनोनीत गरिनेछ।
रास्वपाको विधानअनुसार वरिष्ठ नेता बन्न केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सभापति रवि लामिछानेले आफ्नो अधिकार प्रयोग गर्दै बालेनलाई केन्द्रीय सदस्य र त्यसपछि वरिष्ठ नेता पदमा मनोनयन गर्ने बताइएको छ।
रास्वपाको १५८ सदस्यीय केन्द्रीय समितिमा सात प्रदेश सभापतिसहित १९ पदाधिकारी रहने व्यवस्था छ। सभापति र ९९ केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् भने बाँकी पदाधिकारीमध्ये केही निर्वाचन र केही मनोनयनमार्फत चयन गरिनेछन्।
पार्टीको नेतृत्व संरचनाअनुसार निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीका लागि पुनः निर्वाचन हुनेछ। साथै उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्तालगायत पदमा सभापतिले केन्द्रीय सदस्यहरूमध्येबाट मनोनयन गर्ने व्यवस्था रहेको छ।









