२०८३ भदौ २९ , सोमबार

कर्णाली प्रदेश मन्त्रिपरिषद बैठकका पाँच निर्णय, पत्रकारिता पुरस्कारमा नयाँ व्यवस्था




कर्णाली प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकपछि सरकारका प्रवक्ता विनोदकुमार शाहले निर्णयहरूको जानकारी गराएका हुन्।

बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’ लाई स्वीकृत गरिएको छ। उक्त कार्यविधि स्वीकृत भएसँगै प्रदेशमा पत्रकारिता क्षेत्रमा पुरस्कार वितरणको प्रक्रिया सहज हुनेछ ।

त्यस्तै प्रदेश सभाको दोस्रो कार्यकालको छैठौं अधिवेशन २०८२ साउन २१ गते राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलक राज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा कागजपत्रअनुसार खटाउने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको परमादेशअनुसार जाजरकोट जिल्लाको जुनीचादे गाउँपालिकाको प्रशासनिक केन्द्र सोही गाउँपालिकाको वडा नम्बर ४, लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता शाहले बताए । 

यस्तै, कर्णाली प्रदेशमा सूचना अधिकारको कार्यान्वयनको अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।