२०८३ वैशाख ४ , शुक्रबार

२५ लाखभन्दा बढी भ्रष्टाचारको आरोपमा तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा कर्णाली प्रदेश अस्पताल, सुर्खेतका तीन जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मुद्दामा अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी, करारमा कार्यरत कम्प्युटर अपरेटर तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगर आरोपित छन्।

आयोगका अनुसार, अपरेटर शाहीले सामाजिक सेवा एकाइ अन्तर्गत स्वास्थ्य बीमाका सेवाग्राहीहरूको नाम दर्ता गर्ने क्रममा अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी नगद सङ्कलन गरेकी थिइन्। तर, उठाएको रकम बैंकमा दाखिला नगरी हिनामिना गरिएको उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा २०८० साउन १ देखि २०८१ जेठ मसान्तसम्मको अवधिमा रु. ३४ लाख ३ हजार ८५६ सङ्कलन भएको देखिए पनि त्यसमा रु. ८ लाख ३६ हजार ३३० मात्र अस्पतालको खातामा जम्मा भएको पाइएको छ। बाँकी रु. २५ लाख ६७ हजार ५२६ हिनामिना भएको आयोगको दाबी छ।

आयोगको निष्कर्ष अनुसार, तीनै जनाको मिलेमतोमा सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी गर्ने बदनियत देखिएको छ। यसै आधारमा उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ असार ९ गते सोमबार