२०८३ वैशाख ४ , शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

एमालेले सुर्खेत–१ बाट शाही र २ बाट देवकोटालाई उम्मेदवार सिफारिस



नेकपा (एमाले) ले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट धुर्वकुमार शाही र क्षेत्र नम्बर–२ बाट कुलमणी देवकोटालाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा अघि सार्ने तयारी गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दुवै नेताको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।

शनिबार बसेको सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ र २ का समन्वय समितिको पूर्ण बैठकले शाही र देवकोटालाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको एमालेले जनाएको छ।

एमाले कर्णाली प्रदेश कमिटीका सचिवसमेत रहेका शाही यसअघि यही निर्वाचन क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अनुभवी नेता हुन्।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले–माओवादी केन्द्रबीच भएको चुनावी तालमेलका कारण शाहीले नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पराजित गरेका थिए।

तर २०७९ सालको निर्वाचनमा भने उनी खड्कासँग पराजित भएका थिए।

यस्तै, एमाले जिल्ला कमिटी अध्यक्ष तथा सुर्खेत जिल्ला खानेपानी उपभोक्ता समितिका अध्यक्षसमेत रहेका देवकोटा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस भएका हुन्।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका लागि निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका जिल्ला पूर्वअध्यक्ष अमृतकुमार विसी, जिल्ला उपाध्यक्ष मोहनसिंह बडुवाल, प्रदेश सचिवालय सदस्य गर्णेश वली र जिल्ला सचिवालय सदस्य भूपेन्द्र दर्मालीलगायत नेताहरू आकांक्षी रहे पनि अन्ततः देवकोटालाई मात्र उम्मेदवारका रूपमा सिफारिस गरिएको एमालेले जनाएको छ । 

प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार