२०८३ वैशाख ४ , शुक्रबार

कर्णाली विकासको गति सुस्त, राजनीतिक कारण बनाउदै मुख्यमन्त्री कँडेल



कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली विकासको गति सुस्त हुदाँ राजनीतिक कारण देखाउँदै पन्छिन खोजेका छन् ।

फाइल तस्वीर

कर्णाली प्रदेश योजना आयोगले बुधबार आयोजना गरेको ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा बोल्दै उनले राजनीतिक पहुँच र प्रभावका कारण योजनाको प्राथमिकता निर्धारणदेखि निर्णय प्रक्रियासम्म प्रभावित हुँदै आएको बताए।

‘संघीयता आएर संरचना बद्लियो, तर निर्णय प्रक्रिया भने पुरानै ढाँचामा चलिरहेको छ,’ उनले भने, ‘राजनीतिक हस्तक्षेपका कारण कहिलेकाहीँ अनिवार्य रूपमा केही कुरा मान्नुपर्ने अवस्था पनि आउँछ।’

मुख्यमन्त्री कँडेलले  प्रदेश मातहतका कार्यालयहरूले समयमा निर्णय नगर्दा जनअपेक्षाका विकास कार्य अघि बढ्न नसकेको बताउँदै पुराना कानुन र जटिल प्रक्रिया पनि कामकाजमा अतिरिक्त असहजता थपिने कारण रहेको उनले उल्लेख गरे।

विकास निर्माणमा हुने ढिलासुस्ती रोक्न जनशक्ति, कार्यशैली र संस्थागत क्षमता सबल बनाउन आवश्यक रहेको जिकिर गर्दै उनले भने, ‘कर्णालीको दिगो विकासका लागि सबै सरोकारवालाले एकताबद्ध भएर योगदान पुर्याउनुपर्नेमा जोड दिए।’

उनले निजी क्षेत्रसँगको सहकार्यलाई मजबुत बनाउँदै कृषि, पर्यटन र जलश्रोत क्षेत्रमा लगानी बढाउन सके कर्णालीलाई दिगो विकासको मार्गमा उभ्याउन सकिने बताए । ‘कर्णालीलाई कस्तो बनाउने भन्नेमा सबैको साझा चासो र प्रतिबद्धता हुनुपर्छ,’ उनले भने।

प्रकाशित मिति : २०८२ मंसिर २४ गते बुधबार