२०८३ वैशाख ४ , शुक्रबार

भौतिक संरचना जले पनि वडाबाटै सेवा दिनुपर्छ : मुख्यमन्त्री कँडेल



कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ध्वस्त भएका वडा कार्यालयहरूको सेवा पुनः वडाबाटै सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

आन्दोलनका कारण वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १ देखि १२ सम्मका कार्यालयमा क्षति पुगेपछि अहिले ती वडाहरूले जिल्ला समन्वय समितिको हलबाट सेवा दिइरहेका छन्।

आइतबार मुख्यमन्त्री कँडेलले त्यही हलमै पुगेर वडा अध्यक्षहरूसँग छलफल गर्दै जनतालाई सहज ढङ्गले सेवा उपलब्ध गराउने विषयमा निर्देशन दिएका थिए ।

उनले भने, ‘भौतिक संरचना जलेर नोक्सान भए पनि जति बाँकी छ, त्यहीँबाट सेवा सुरु गर्दा जनतामाझ सकारात्मक सन्देश पुग्छ।

सबै वडाका कार्यालयलाई एउटै स्थानमा राख्दा नागरिकलाई झन्झटिलो हुन्छ, त्यसैले सकेसम्म छिट्टै वडामै फर्केर सेवा दिनुपर्छ।’

गत भदौ २३ र २४ गते भएको आन्दोलनमा नगरपालिकाको भवन, नक्सा शाखा, पूर्वाधार शाखा लगायतका महत्त्वपूर्ण इकाई मा क्षति पुगेको थियो।

सात वटा वडा कार्यालय पूर्ण रूपमा जलेका छन् भने पाँच वडामा आंशिक क्षति पुगेको छ। वडा नम्बर २, ३, ४, ५, ६, १० र ११ का कार्यालय पूर्ण रूपमा ध्वस्त भएका हुन् भने वडा नम्बर १, ७, ८, ९ र १२ आंशिक क्षतिग्रस्त छन्।

मुख्यमन्त्री कँडेलले स्थलगत अवलोकनपछि अहिले अवस्था सामान्य हुँदै गएको उल्लेख गर्दै, आवश्यक परे अस्थायी रूपमा कम्प्युटर जडान गरेर भए पनि सेवा प्रवाह गर्न सुझाव दिए।

यस घटनाले नगरपालिकाको प्रशासनिक संरचनामै ठुलो धक्का पुर्‍याएको भए पनि मुख्यमन्त्री कँडेलले कठिन समयमा पनि जनताले पाउने सेवा–सुविधा जनताकै घर आँगनबाटै दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्नु पर्ने बताए।

प्रकाशित मिति : २०८२ असोज ७ गते मंगलबार