२०८३ वैशाख ४ , शुक्रबार

हिंसा र तोडफोडपछि नागरिकमा त्रास : मुख्यमन्त्री कँडेलको सुरक्षा निकायलाई निर्देशन




जेन जी पुस्ताको आन्दोलनपछि उत्पन्न पछिल्लो अवस्थाबारे कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशस्थित सुरक्षानिकायहरुसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री कँडेलले आन्दोलनका नाममा भएको हिंसा र तोडफोडका कारण नागरिक त्रसित रहेकोले आश्वस्त पार्ने गरी काम गर्न चारै वटै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री कँडेलले उद्देश्य राम्रो भए पनि आन्दोलनको नाममा भएको हिंसा र तोडफोडले मुलुकले अकल्पनीय क्षति व्यहोर्नु परेको र नागरिक अझै पनि भयवित अवस्थामा रहेकोले जनजीवन सामान्यकृत हुने गरी आफ्ना गतिविधि सञ्चालन गर्न चारै वटै सुरक्षा निकायलाई सुझाव दिए ।

मुख्यमन्त्री कँडेलले भने, ‘जेन्जी पुस्ताको आन्दोलनमा नाममा भएका हिंसात्मक कामहरूको अनुसन्धान र कारबाहीका कामहरू हुन्छन् नै, तर त्यसपछि पनि नागरिक त्रासमा छन्, यो अवस्थाबाट माथि उठाएर आश्वस्त पार्ने काममा तपाईँहरू लाग्नुस्।’

मुख्यमन्त्री कँडेलले थप शान्ति सुरक्षा बिग्रन नदिन प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने सुरक्षा प्रमुखहरूलाई आश्वस्त पारे ।

उनले भने, ‘तपाईँहरूको तालुकदार निकाय सङ्घीय सरकार होला तर प्रदेशको शान्ति, सुव्यवस्था कायम गर्ने सन्दर्भमा तपाईँहरूलाई आवश्यक सहजीकरण गर्न प्रदेश सरकार तयार छ । ’

मुख्यमन्त्री कँडेलले शान्तिपूर्ण प्रदर्शनबाहेक हिंसात्मक गतिविधि नियन्त्रणमा राज्यले आवश्यक पहल लिनुपर्ने भन्दै  माथिल्लो तहको आदेशको अन्योलले जिल्लाका सुरक्षाकर्मीले भोगेको अवस्थाबारे आफू जानकार रहेको बताए ।

उनले भने, ‘नुहुनुपर्ने क्षति भयो, सुर्खेतमा सीमित जनशक्तिले आफ्नो मेहनतले थप क्षति रोक्नु पनि भयो तर जसले तपाईँहरूलाई परिचालन गर्नुपर्ने थियो उसैले लत्ता छाडेपछि तपाईँहरूको नियन्त्रणमा रहेन।’

मुख्यमन्त्री कँडेलले अन्यत्रभन्दा क्षति कम गराउन सफल भएकोमा सुरक्षाकर्मीहरूलाई धन्यवाद पनि दिए । मुख्यमन्त्री कँडेलले यति बेला आग्रह, पूर्वाग्रह र प्रतिशोध भन्दा संयम र धैर्यताको खाँचो भएको रहेकोले सुरक्षाकर्मी संयमका साथ अगाडी बढ्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री कँडेलले भने, ‘आन्दोलनमा नाममा भएका आगजनी र लुटपाटमा पूर्वाग्रह नराखेर अनुसन्धान गर्न  र कानुन बमोजिम कारबाही गर्न तपाईँहरूलाई माथिको आदेश पर्खनु पर्देन, पूर्वाग्रह नराखेर अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुस् ।’

छलफल कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र यादव, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर आचार्यसहित प्रदेशस्थित ४ वटै सुरक्षाका प्रमुखहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८२ भदौ ३१ गते मंगलबार