२०८३ वैशाख ४ , शुक्रबार
जेन–जी आन्दोलन :

कर्णालीमा भवन र सवारी साधनसँगै ध्वस्त भए सरकारी दस्तावेज, एउटै कार्यालयका दर्जनौं मोटरसाइकल खरानी

एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोडपछि आन्दोलनकारीले क्रमशः नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यालयमा पनि यस्तै घटना दोहोराएका थिए ।


कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मङ्गलवार बिहानै देखि जेन–जी पुस्ताका युवाहरूले शान्ति पूर्ण जुलुस निकालेका थिए । मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले बिहानै शान्तिपूर्ण जुलुसबाट सुरु भएको आन्दोलन साँझसम्म पुग्दा पार्टी कार्यालय, सरकारी अड्डा, नेताका निजी घरदेखि पेट्रोल पम्प र वडा कार्यालयसम्म ध्वस्त गरेका थिए ।

भ्रष्टाचारको छानबिन, पारदर्शी शासन र सामाजिक सञ्जाल खोल्नुपर्ने मागसहित सुरु भएको जेन–जी आन्दोलन वीरेन्द्रनगरमा उग्र बनेपछि सहर पूरै हिंसात्मक गतिविधिमा पुगेको थियो ।

केही समयसम्म बजार सामान्य रहे पनि करिब १० बजेतिर मंगलगढी चोकमा ठुलो भीड जम्मा भएपछि वीरेन्द्र चोक हुँदै घण्टाघर पुग्ने बेलासम्म आन्दोलन हिंसात्मक मोडमा प्रवेश ग¥यो ।

प्रदर्शनकारीहरूले नेताहरूका पुत्ला दाहसंस्कार गरे, नारा जुलुस गरे । तर भीड बढ्दै जाँदा उनीहरूले सबैभन्दा पहिला नेकपा एमालेको हटियालाइनस्थित पार्टी कार्यालय तिर भीड मोडियो ।

एमाले पार्टी कार्यालयमा सुरक्षा व्यवस्थापन कडा भए पनि प्रदर्शनकारीहरूले ढुङ्गा प्रहार गर्ने सुरु गरेपछि सुरक्षाकर्मीको रोकथामलाई अटेरी गर्दै प्रदर्शनकारीहरूले कार्यालय तोडफोड गरी सम्पूर्ण कागजात, फर्निचर र भवनसमेत जलाए ।

वीरेन्द्रनगरमा उग्र बनेको जेन–जी आन्दोलनले राजनीतिक दलका कार्यालयहरूलाई समेत लक्ष्य बनाएको देखिन्छ । एमाले पार्टी कार्यालयमा आगजनी र तोडफोडपछि आन्दोलनकारीले क्रमशः नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यालयमा पनि यस्तै घटना दोहोराएका थिए । यी तीनै दलका पार्टी कार्यालयहरू पूर्ण रूपमा जलेर ध्वस्त भएका छन् ।

आन्दोलन नियन्त्रण गर्न सुरक्षा निकाय सक्रिय भए पनि भीड नियन्त्रणबाहिर गएपछि कार्यालयहरूमा क्षति पुगेको थियो । त्यो मात्र नभई, त्यसपछि राप्रपाको कार्यालयमा समेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेका हुन् ।

लगातारका आक्रमणका कारण वीरेन्द्रनगर बजार क्षेत्र तनावपूर्ण अवस्थामा सिर्जना भएको थियो । राजनीतिक दलका कार्यालयहरू जलेर नष्ट भएपछि स्थानीय नागरिकबिच त्रास फैलियो ।

अबौं खर्चिएर बनेका संरचना जलेर नष्ट बन्न पुगेका छन् । जेन–जीको आन्दोलनबाट करोडौँको भौतिक संरचना ध्वस्त भएका छन् ।

त्यसपछि जेन–जी पुस्ताका प्रदर्शनकारीका नजरमा कर्णाली प्रदेशका सरकारी कार्यालयहरू प्रमुख निशानामा परे । जहाँ तोडफोड र आगजनी भयो । यसरी तोडफोड र आगजनी भएका अधिकांश सरकारी कार्यालय बनेको केही समय मात्रै भएको थियो ।

अबौं खर्चिएर बनेका संरचना जलेर नष्ट बन्न पुगेका छन् । जेन–जीको आन्दोलनबाट करोडौँको भौतिक संरचना ध्वस्त भएका छन् ।

जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, नापी कार्यालय, प्रदेश सभा, प्रदेश सभा सचिवालय, वीरेन्द्रनगर नगरपालिका, सरकारी वकिल कार्यालय लगायतका सरकारी अड्डा कार्यालय समेत तोडफोड र आगजनीमा परे । यस्तै वीरेन्द्रनगर नगरपालिका –१, २, ३, ४, ६, ७, ८, ९ नम्बर वडा कार्यालय भवन जलेर नष्ट भएका छन् ।

प्रदेश सभाको सम्पूर्ण संरचनामा तोडफोड र आगजनी
नागरिक सेवा प्रवाहमा प्रत्यक्ष जोडिने दुई दर्जनभन्दा बढी सरकारी निकायमा अराजक आन्दोलनकारीले निसाना बनाएर आगजनी तथा तोडफोड गरी अर्बौँको क्षति पु¥याएका छन् ।

संयमता गुमाएका अराजक युवाहरूले प्रदेशसभाभित्रका भौतिक तथा सरकारी कागजात पूर्ण रूपमा नष्ट गरेका छन् । प्रदेशसभा परिसरमा तोडफोड र आगलागी नभएका कुनै संरचना बाँकी देखिँदैनन् ।

कर्णाली प्रदेशकाे प्रदेश सभा भवन ताेडफाेड र आगजनी

प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले तोडफोड र आगलागीका कारण एक अर्बभन्दा बढीको क्षति भएको बताए । क्षतविक्षत भएको प्रदेशसभालाई पहिलेकै अवस्थामा ल्याउन अर्बौँ खर्च लाग्ने उनले बताए ।

उनका अनुसार प्रदेशसभाबाट कुनै पनि सरकारी कागजातहरू सुरक्षित गर्न सकिएन । अघिपछि प्रदेशसभामा प्रवेश गर्न निकै कडाइ गर्ने प्रहरीले सुरक्षा दिन नसक्दा भौतिक संरचनासँगै सम्पूर्ण सरकारी कागजातहरू जलेर नष्ट भएका छन् ।

एउटै कार्यालयका दर्जन बढी मोटरसाइकल खरानी
प्रदेश लेखा नियन्त्रक कार्यालयमा पार्किङ गरेर राखिएका दर्जन बढी मोटरसाइकल जलेर नष्ट भएका छन् । कार्यालयका एक कर्मचारीले कार्यालयमा राखिएका मोटरसाइकल प्रदर्शनकारीले जलाएर नष्ट बनाएको बताए ।

‘हामीले आन्दोलनकारी आएको पनि थाहा पाएनौँ,’ ती कर्मचारीले कारखाना मिडियासँग कुरा गर्दै भने, ‘आन्दोलनकारीहरूले हाम्रो सवारी मात्रै होइन सेवा लिन आएका सेवाग्राहीका समेत मोटरसाइकल जलाएर नष्ट गरे ।’ उनका अनुसार जलाएका मोटरसाइकल अधिकांश निजी रहेको जानकारी दिए । साथै सोही कार्यालयका दुई वटा गाडी समेत जलेर खरानी भएका छन् ।

‘सवारी साधन त जले केही थिएन हुँदा हुँदा कार्यालयभित्र भएका महत्त्वपूर्ण कागजात, जिन्सी सामग्रीसमेत जलेर नष्ट भएको छ,’ उनले मङ्गलवार जलेर नष्ट भएको भवन २०८० मा सालमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले उद्घाटनपछि आफूहरू सो कार्यालयमा सेवा दिने गरेको बताए । ’ भवन बनेको २ वर्ष मात्रै भएको थियो, तर के गर्न जलेर नष्ट भयो,’ उनले भने, ‘बरु पहिलेकै भवनमा बसेको भए हुने रहेछ,’

‘हामीले आन्दोलनकारी आएको पनि थाहा पाएनौँ,’ ती कर्मचारीले कारखाना मिडियासँग कुरा गर्दै भने, ‘आन्दोलनकारीहरूले हाम्रो सवारी मात्रै होइन सेवा लिन आएका सेवाग्राहीका समेत मोटरसाइकल जलाएर नष्ट गरे ।’

उनले कार्यालयबाट आंशिक सेवा छिट्टै सञ्चालन भए पनि पूर्ण सेवा भने अझै कयौँ वर्ष लाग्ने बताए । आगजनीका कारण लेखासम्बन्धी सम्पूर्ण कागजात, कम्प्युटर, प्रिन्टरलगायतका भौतिक संरचना पूर्ण रूपमा नष्ट भएका छन् ।

लेखा नियन्त्रक कार्यालयमा क्षति पुगेसँगै प्रदेशका सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प भएका छन् । यसलाई नियमित गराउन निकै चुनौती झेल्नुपर्ने कर्मचारीहरू बताउँछन् ।

अराजक आन्दोलनकारीले नागरिकसँग प्रत्यक्ष जोडिने नापी कार्यालयमा समेत पूर्ण रूपमा क्षति पु¥याएका छन् । आगजनीका कारण कार्यालयका जग्गा नापजाँचसम्बन्धी सम्पूर्ण कागजातहरू जलेर नष्ट भएका छन् ।

भवनसँगै जले महत्त्वपूर्ण दस्ताबेज
यता, नापी कार्यालयमा पनि भवनसँगै महत्त्वपूर्ण दस्ताबेज पनि जलेर खरानी भएका छन् । नापी कार्यालयका कार्यालय प्रमुख दिनेश भण्डारीका अनुसार नक्साका कागजातसँगै कम्प्युटर लगायतका अन्य सम्पूर्ण सामाग्री जलेर नष्ट भएको बताए ।

कर्मचारीले कार्यालयमा बसेर तत्कालै काम गर्न सक्ने कुनै पनि अवस्था नभएको र कार्यालयबाट सेवा सुरु कहिले हुन्छ भन्नेबारे पनि भन्न नसकिने उनले भने । २०२९ साल यताका सबै कागजात जलेर खरानी भएको हुँदा नापी सम्बन्धी कार्यहरू शून्यबाट सुरु गर्नुपर्ने अवस्था आएको बताए । यी कागजात बनाउन २० देखि २५ वर्ष समय लाग्नेछ ।

जसका कारण जनताले निकै सास्ती खेप्नुपर्ने देखिएको छ । नापी कार्यालय मात्रै नभई वीरेन्द्रनगरमा आन्दोलनकारीको निसानामा परेका सरकारी कार्यालयहरूसँगै दस्ताबेजहरू जलेर खरानी बनेका छन् । जसका कारण कर्मचारीहरू जलेका कार्यालयसँगै आफ्नो भविष्य के हुने हो भन्ने अन्योलमा परेका छन् ।

नेताका निजी घरमा आक्रमण
जेन–जी पुस्ताका आन्दोलनकारीहरूले नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र उनका भाइ डा। डम्बर खड्काको निजी निवासमा तोडफोड गर्दै आगजनी गरेका छन् । त्यसै गरी मुख्यमन्त्रीको सरकारी निवाससहित मुख्यमन्त्री यामलाल कँडेलको निजी घर पनि जलेर नष्ट भएको छ ।

त्यस्तै नगरप्रमुख मोहनमाया ढकाल र उपप्रमुख नीलकण्ठ खनालको घरमा समेत आगजनी गरी ठुलो क्षति पु¥याएका छन् । आन्दोलनकारीहरूले मङ्गलवार एयरपोर्ट चोकमा सञ्चालनमा रहेको माया आयल स्टोरमा पनि तोडफोड गरेका थिए ।

प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार