अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकखण्डमा पहिरो खसेर तथा बाढी आएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङ खण्डमा पर्ने पृथ्वी राजमार्ग सबैभन्दा बढी प्रभावित भएको छ। बेनीघाट रोराङ–७ स्थित कृष्णभीर र गजुरी–२ को परेवा भीरमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यस्तै, बेनीघाट रोराङ–१० स्थित ज्वाडु खोला र थाक्रे–२ को कमेरेभीरमा पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको खुर्कोट–नेपालथोक सडकखण्डमा बाढीको उच्च जोखिम रहेकाले सावधानी अपनाउँदै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
त्यस्तै, पासाङ ल्हामु सडकखण्डको सिटारमा बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। विदुर–लाच्याङ र टोखा–छहरे सडकखण्ड पनि बाढी तथा पहिरोका कारण प्रभावित भएका छन्।
रसुवाको उत्तरगया–५ स्थित खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड लामो समयदेखि बन्द रहेको प्रहरीले जनाएको छ।
गण्डकी प्रदेशतर्फ लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड अन्तर्गत खर्करेभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तै, कर्णाली प्रदेशको मुगु–गमगढी सडकखण्ड अन्तर्गत ताल्चामा पहिरो खसेका कारण यातायात ठप्प भएको छ।
सुदूरपश्चिम प्रदेशको बैतडीमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ। गोठालापानी–झुलाघाट सडकखण्डमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।











