२०८३ भदौ २७ , शनिबार

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ६१६ पुग्यो, २३०१ जनाको उद्धार



रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेपाल प्रहरीले शनिबार बिहान ७ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानबाट ६१६ जनाको शव फेला परेको हो । फेला परेका शवमध्ये सबैभन्दा बढी चितवनमा २३३ जनाको रहेका छन् ।

त्यस्तै, नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

बाढीका कारण २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा सुरक्षा व्यवस्थापनका लागि ४ हजार ८११ जना प्रहरी परिचालन गरिएको छ ।

प्रहरीका अनुसार बाढीबाट प्रभावित तथा घाइते भएका २ हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका १ हजार ६२२ र धादिङका तीन जना रहेका छन् ।

यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १४० जना रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ १३ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।