२०८३ भदौ २७ , शनिबार

सुर्खेतमा चन्द्रा सिंह मृत्यु प्रकरणः जिल्ला प्रशासन नायवसुब्बा पक्राउ



एकीकृत कृषि प्रयोगशाला, सुर्खेतको आवास गृहमा बेहोस अवस्थामा भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल विसीलाई आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जाजरकोटको भेरी नगरपालिका–१ स्थायी घर भएकी सिंह विगत दुई वर्षदेखि एकीकृत कृषि प्रयोगशालामा नायब प्राविधिक सहायकका रूपमा कार्यरत थिइन्। उनी वीरेन्द्रनगर–७ स्थित कार्यालयको आवास गृहको शौचालयमा बेहोस अवस्थामा फेला परेकी थिइन्।

उद्धारपछि उनलाई देउती अस्पताल हुँदै प्रदेश अस्पताल, सुर्खेत पुर्‍याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि मृतकका श्रीमान् महेश बस्नेतले आत्महत्या दुरुत्साहनको आरोपमा किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले साउन १६ गते वीरेन्द्रनगर–८ खजुराबाट विसीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा चन्द्रा सिंह र कविलाल विसीबीच फेसबुकमार्फत भएका केही शंकास्पद संवाद फेला परेका छन्।

ती संवादसहित घटनाका सबै पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।