२०८३ साउन ११ , सोमबार

डडेल्धुरामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते



कैलाली–दार्चुला जोड्ने महाकाली राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखान नजिक शुक्रबार राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार राति करिब २ बजे सुप्रप्र ०१–००१ ज १८५० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का करिब ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया अनु लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारमा खटिएको थियो। घाइतेहरूलाई घटनास्थलबाट करिब १२ किलोमिटर टाढा रहेको अमरगढी नगरपालिका–५ स्थित डडेल्धुरा अस्पताल पुर्‍याइए पनि चिकित्सकले सुगन र अनु लोथ्याललाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा चालक बैतडीको डिलाशैनी गाउँपालिका–३ का करिब २० वर्षीय अमृत घरेडी, दार्चुलाको अपिहिमाल गाउँपालिका–१ की करिब ३५ वर्षीया सरस्वती लोथ्याल र मार्मा गाउँपालिका–३ का करिब ५० वर्षीय अमरसिंह घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला क्षेत्रमा वर्षासँगै बाक्लो कुहिरो लागेको थियो। प्रारम्भिक अनुसन्धानबाट प्रतिकूल मौसमका कारण रातिको समयमा जिप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

जिप खसरेखानभन्दा करिब ५०० मिटरअघि सिद्धाथान मन्दिर नजिकबाट सडकबाट तल खसेर पोखरा–बेलापुर सडक खण्डमाथि अड्किएको थियो। भिरालो भूभाग, वर्षा र बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको प्रहरी निरीक्षक चन्दले बताए।

प्रकाशित मिति : २०८३ साउन २ गते शनिबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।