कर्णाली प्रदेश सरकारले विपद् जोखिममा रहेका क्षेत्रका नागरिकलाई लक्षित गरी पहिलो पटक घर बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । पहिलो चरणमा १५ वटा स्थानीय तहका २१३ वडाका १६ हजार ७२ घरको बीमा गरिएको छ ।

कर्णाली प्रदेश विपद्को उच्च जोखिममा रहेको भन्दै वर्षेनी हुने जनधनको क्षति न्यूनिकरण तथा क्षतिपूर्तिको भरपर्दो व्यवस्था गर्न प्रदेश सरकारले आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा घर बीमा योजना समेटेको थियो । यही योजनाअन्तर्गत आजदेखि प्रदेशभर घर बीमा कार्यक्रम औपचारिक रूपमा लागू गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार ‘घर बीमा कार्यक्रम कार्यविधि–२०८१’ गत फागुन १३ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको थियो । कार्यविधिअनुसार १० जिल्लाका २३ स्थानीय तहले घर बीमा कार्यक्रममा सहभागी हुने प्रतिबद्धता जनाएका थिए ।
तीमध्ये १५ स्थानीय तहका १६ हजारभन्दा बढी घरको मूल्याङ्कन पूरा गरी बीमा पोलिसी जारी गरिएको मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए ।
मुख्यमन्त्री कंडेलले अब कृषि तथा पशु बीमा पनि अझ प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहलाई आग्रह गरे ।
कार्यविधिअनुसार बिमाले घरधनीको निजी आवासमा भूकम्प, आगलागी, बाढी, पहिरो, हावाहुरी, चट्याङ, डुबान, आतंकवादजन्य घटना लगायतका जोखिमबाट हुने क्षतिलाई समेट्नेछ । प्रदेश सरकारले प्रत्येक घरका लागि अधिकतम २० लाख रुपैयाँसम्मको प्रिमियम व्यहोर्नेछ भने त्यसभन्दा बढी क्षतिलाई घरधनीले आफैँ व्यहोर्नुपर्नेछ । हालसम्म जम्मा ९८ लाख २४ हजार ८९३ रुपैयाँ प्रिमियम भुक्तानी भइसकेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले विपद् जोखिम न्यूनीकरणका लागि यो कार्यक्रम ऐतिहासिक रहेको बताए । ‘‘थोरै प्रिमियममा ठुलो क्षति व्यवस्थापन गर्न सकिने भएकाले बीमा संस्कृतिको विकास आवश्यक छ,’’ उनले भने, ‘‘क्षति भएपछि मात्रै सरकार गुहार्नुभन्दा पहिले नै बीमा गर्ने बानी बसाल्नुपर्छ ।’’ मुख्यमन्त्री कंडेलले अब कृषि तथा पशु बीमा पनि अझ प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहलाई आग्रह गरे ।
कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरी, बराहलाल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी, महाबै गाउँपालिका अध्यक्ष खेमसिंहलगायतले विपद् जोखिममा रहेका कर्णालीवासीका लागि घर बीमा कार्यक्रमले ठुलो राहत दिने बताएका छन् ।
उनीहरूले कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकातर्फबाट आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । मन्त्रालयका उपसचिव उत्तम गौतमका अनुसार चालु आर्थिक वर्ष ०८२/०८३ मा घर बिमाका लागि ३ करोड ५० लाख रुपैयाँ बजेट छुटाइएको छ । यस वर्ष पहिलो चरणमा समेटिन नपाएका स्थानीय तहलाई पनि बिस्तारै यस कार्यक्रममा समेटिने उनले बताए ।

कुन पालिकाका कति घर बीमामा समेटिए ?
कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बीमा कार्यक्रममा पहिलो चरणमा १५ स्थानीय तहका १६ हजारभन्दा बढी घर समेटिएका छन् । सल्यानको शारदा नगरपालिकामा सबैभन्दा धेरै ४ हजार ७०७ घर बीमा गरिएका छन् भने दैलेखको ठाँटीकाध गाउँपालिकामा ५२६ घर समावेश भएका छन् ।

सुर्खेतका गुर्भाकोट नगरपालिकामा ९१६, लेकबेशी नगरपालिकामा २६५ र बराहताल गाउँपालिकामा २ हजार ४६९ घर बिमामा परेका छन् । रुकुम पश्चिमका त्रिवेणी गाउँपालिकामा ३३९ र सानी भेरी गाउँपालिकामा २१२ घरको बीमा गरिएको छ । कालिकोटको तिलागुफा नगरपालिकामा ६५५, पलाता गाउँपालिकामा ६४३ र महाबै गाउँपालिकामा ६८० घर समेटिएका छन् ।
यस्तै डोल्पाको जगदुल्ला गाउँपालिकामा ६४०, जुम्लाको सिजा गाउँपालिकामा १ हजार ५४५, हुम्लाको खार्पूनाथ गाउँपालिकामा ६६१ र मुगुको छायाँनाथ नगरपालिकामा १ हजार ३११ घरको बीमा गरिएको छ । यसै गरी जाजरकोटको बारेकोट गाउँपालिकामा ७३३ घर बिमामा आबद्ध भएका प्रदेश सरकारले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्