सुर्खेतको चौकुने गाउँपालिकाका स्थानीय र जनप्रतिनिधिको टोलीले राजमार्गको २९.२ किलोमिटर खण्ड पुरानो डिपिआरअनुसार बनाउन माग गर्दै आइतबार काठमाडौं पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन्।
टोलीले राजमार्गलाई पूर्वको झापा शान्तिनगरदेखि सुदूरपश्चिमको डडेलधुराको रुकपालसम्म पुरानो डिपिआरअनुसार बड्डीचौर, गुटु, बेतान, लगाम, धनरास, धामिसेन, तालागाउँ र बेनिघाट हुँदै जोड्नुपर्ने स्पष्ट माग राखेको छ।
मदन भण्डारी राजमार्ग झापाको बाहुनडाङ्गि देखि डडेल्धुराको रुपाल सम्म १२ सय किलाेमिटर रहेको छ । राष्ट्रिय सभा सदस्य नर बहादुर बिष्टले सरकारलाई चेतावनी दिँदै माग पूरा नगरे ठूलो आन्दोलन हुने बताएका छन्। ‘‘स्थानीयको आवाज बेवास्ता गरियो भने यो मुद्दा राष्ट्रिय रूपमा उठ्नेछ,’’ उनले भने।
त्यस्तै, पूर्वमन्त्री नवराज रावतले यो सडक केवल पूर्वाधारको कुरा नभई स्थानीय जनताको अधिकार र सम्मानसँग जोडिएको विषय भएको बताए।
‘‘बेनीघाट क्षेत्रले पर्यटकीय सम्भावना बोकेको छ, सरकारले जनभावनाको सम्मान गर्नैपर्छ,’’ रावतले बताए । टोलीका अगुवा डिलबहादुर बुढाले सरकारको नयाँ विकल्पले उनीहरूको बस्ती छेउमा पार्न खोजेको भन्दै असन्तुष्टि जनाए।
‘‘हामी विकासविरोधी होइनौं, तर यो सडक हाम्रो बस्ती भएर नै जानुपर्छ,’’ उनले भने, ‘‘त्यसैले हाम्रो माग बुझाउन राजधानीसम्म आएका हौं।’’
ज्ञापनपत्र बुझाउन गएको टोलीमा पूर्वमन्त्री रावत र बिष्टसँगै चौकुने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासी गरी दर्जनौँको सहभागिता थियो।
स्थानीयवासीका अनुसार वैकल्पिक सडकले गाउँको मुख्य बस्तीलाई अलग पारेर विकासको अवसर गुम्न सक्ने भएकाले वर्षौंदेखिको डिपिआरअनुसार नै राजमार्ग निर्माण गर्नुपर्छ भन्ने उनीहरूको माग छ।











प्रतिक्रिया दिनुहोस्