
संघीय सरकारका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा कायम रहेको सत्ता गठबन्धन संकटमा परेको छ।
२०८१ असार १७ गते मध्यराति भएको सातबुँदे सहमतिका आधारमा बनेको प्रदेशस्तरीय गठबन्धन दुई दलबीच बढ्दो असमझदारीका कारण धरापमा परेको हो।
गठबन्धन संकटमा परेसँगै सातै प्रदेशमा अब कसको नेतृत्वमा सरकार बन्छ र कुन दलबीच नयाँ सत्ता समीकरण तयार हुन्छ भन्ने विषयमा राजनीतिक गतिविधि तीव्र बनेको छ।
प्रदेश सरकारको नेतृत्व परिवर्तनदेखि नयाँ गठबन्धन निर्माणसम्मका सम्भावनाबारे दलहरू आन्तरिक तथा अन्तरदलीय छलफलमा जुटेका छन्। हालको प्रदेशसभा अंकगणितअनुसार कुनै पनि प्रदेशमा एउटै दलको स्पष्ट बहुमत छैन।
कुन प्रदेशमा कसका कति सांसद ?
कोशी प्रदेश
कोशी प्रदेशमा ९२ सांसदमध्ये एमाले ४० सांसदसहित सबैभन्दा ठूलो दल छ भने कांग्रेसका २९ र नेकपाका १७ सांसद छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ५ र जनता समाजवादी पार्टी (जसपा) सँग १ जना प्रदेश सभा सदस्य छन् ।
कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । दुई ठूला दल बीचको सहकार्य टुटेपछि, १७ सिट भएको नेकपा निर्णायक बनेको छ ।
मधेश प्रदेश
मधेश प्रदेश सभामा हाल १०३ सदस्य कायम छन् । यहाँ २८ सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सबैभन्दा ठूलो दलका रुपमा रहेको छ ।
मधेशमा एमालेका २४, कांग्रेसका २२, जनमत पार्टीका १२, नेकपाका १५, नेपाल संघीय समाजवादी पार्टीका १ र राप्रपाका १ जना प्रदेश सभा सदस्य छन् । यसमा जसपासगँ कुनै एक दलले सहकार्य गरेर सरकार गठन गर्न सक्ने देखिन्छ ।
बागमती प्रदेश
बागमती प्रदेश सभा हाल १०४ जना सांसदहरू छन् । यहाँ ३६ प्रदेश सभा सदस्य रहेको कांग्रेस पहिलो दल छ ।
एमालेका २६, नेकपाका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
यहाँ पनि कुनै दुई दल मिल्दा सरकार सहजै गठन हुने देखिन्छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेश सभा ६० सदस्यीय रहेको छ । यहाँ कांग्रेससँग २७, एमालेसँग २२, नेकपासँग ८, राप्रपासँग २ र १ स्वतन्त्र सांसद रहेका छन् । यहाँ पनि नेकपा निर्णायक बनेको छ ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश सभामा विभिन्न दलका गरी ८३ सदस्य रहेका छन् । लुम्बिनीमा २९ सिटसहित एमाले पहिलो र २७ सिट सहित कांग्रेस दोस्रो ठूलो दलका रुपमा छन् ।
यहाँ प्रचण्ड नेतृत्वको नेकपाका १३, राप्रपाका ४, जसपा नेपालका ३, जनमत पार्टीका ३, जसपाका २, राष्ट्रिय जनमोर्चा १ र १ स्वतन्त्र सांसद छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश सभा हाल ३९ सदस्यीय रहेको छ । यहाँ कांग्रेससँग १४, नेकपासँग १३, एमालेसँग १० र राप्रपासँग १ सांसद छन् । कर्णाली प्रदेश सभामा १ जना स्वतन्त्र सांसद छन् ।
कर्णालीमा सरकार बनाउन कांग्रेस-नेकपाको सत्ता समिकरण हुने सम्भावना देखिन्छ ।
सुदूरपश्चिम प्रदेश
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, एमाले ११, नेकपा १५, नागरिक उन्मुक्ति ७, राप्रपा १ र १ स्वतन्त्र सांसद छन् । सुदूरपश्चिम प्रदेश सभामा हाल ५१ जनामात्र छन् ।
पदको दुरुपयोग र सम्पत्ति आर्जनको मुद्दा लागेका नेकपाका प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीको पद निलम्बनमा छ । स्वतन्त्रबाट विजयी डा. तारा जोशीको राजीनामाले एक सिट रिक्त छ ।
प्रदेशसभाको यो अंकगणित हेर्दा अधिकांश प्रदेशमा सरकार गठनका लागि गठबन्धन अपरिहार्य देखिन्छ।
नेकपाको समर्थनबिना धेरै प्रदेशमा स्थिर सरकार गठन कठिन हुने अवस्था रहेकाले नयाँ सत्ता समीकरणमा नेकपा निर्णायक शक्तिका रूपमा देखिएको छ।
कांग्रेस–एमाले गठबन्धनको भविष्य अन्योलमा परेसँगै सातै प्रदेशमा नयाँ सरकार गठन, नेतृत्व परिवर्तन र सत्ता साझेदारीको विषयले तीव्र राजनीतिक चर्चा पाएको छ।
अब नेकपाले कुन दलसँग सहकार्य गर्ने निर्णय गर्छ, त्यसले प्रदेश सरकारहरूको आगामी स्वरूप निर्धारण गर्ने देखिएको छ।










Yasto pani hunxa aba