
नेपाली कांग्रेसकी सांसद सिता थपलिया उर्मिला ले वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारको १०० दिन मनाएको आरोप लगाएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थपलियाले वर्षायामको मुखमा सुकुमबासीलाई उठिबास लगाउनु मानवीयता नभएको बताइन्।
‘मलाई लागेको थियो, यो सरकारले १०० दिनमा अरू केही नगरे पनि जनतालाई मल त पक्कै दिन्छ। तर विडम्बना, यो सरकारले सुकुमबासीको आँखामा आँसुको उपहार दिएर १०० दिन मनायो,’ उनले भनिन्, ‘वर्षायामको मुखमा सुकुमबासीहरूलाई उठिबास लगाइयो। जनतालाई नयाँपनको अनुभूति दिन सकिएन।’
उनले सत्तापक्षका सांसदहरूलाई ३५ वर्षको नाममा पुराना दलहरूलाई गाली गर्न बन्द गरी आफ्नै कार्यशैली सुधार गर्न सुझाव दिइन्।
सरकारमा पात्रहरू मात्र फेरिए पनि काम गर्ने शैली र प्रवृत्ति पुरानै रहेको उनको टिप्पणी थियो। ‘सत्तापक्षका माननीयज्यूहरूलाई मेरो विनम्र अनुरोध छ—अब पुराना दललाई ३५ वर्षका नाममा गाली गर्न बन्द गर्नुहोस्। किनकि अब औँला तपाईंहरू र यो सरकारतिर उठ्न थालिसकेको छ। पात्र मात्र फेरिएका हुन्, प्रवृत्ति र गतिविधि उही छ,’ उनले भनिन्।
सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा नातावाद र कृपावाद कायमै रहेको उनको आरोप थियो। पुराना दललाई तराजुमा जोख्नुअघि आफूलाई ऐनामा हेर्न पनि उनले सरकारलाई सुझाव दिइन्।









