सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्। हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको पुष्टि भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिवाना गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार ट्राफिक प्रहरीको टोली शुक्रबार मुख्यमन्त्री निवासमा पुगेर जरिवाना असुल गरेको हो।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले बिहीबार राति सामाजिक सञ्जाल टिकटकमा मुख्यमन्त्री शाहले हेल्मेटबिना बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक गरेका थिए।
उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै मुख्यमन्त्रीको व्यापक आलोचना भएको थियो। केही समययता वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री शाहले साँझको समयमा निवास परिसरमै मोटरसाइकल चलाइरहेको दृश्य सार्वजनिक भएको थियो।
तर, हेल्मेट नलगाई सवारी साधन चलाएको विषयलाई लिएर आलोचना चुलिएपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यको नेतृत्वमा गएको टोलीले ट्राफिक नियम उल्लङ्घन गरेको ठहर गर्दै मुख्यमन्त्री शाहलाई ५०० रुपैयाँ जरिवाना तिराएको जनाएको छ।
उक्त घटनापछि सार्वजनिक पदमा रहेका व्यक्तिहरूले पनि ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने विषयमा सामाजिक सञ्जालमा व्यापक बहस सुरु भएको छ।









