२०८३ वैशाख ४ , शुक्रबार

गुर्भाकोट र लेकबेसी नगरपालिकाको शिक्षा योजना निर्माण कार्य अन्तर्गत उप-क्षेत्रगत योजना निर्माण कार्यशाला सम्पन्न



गुर्भाकोट नगरपालिका र लेकबेसी नगरपालिकामा स्थानीय तहको शिक्षा योजना निर्माण कार्यअन्तर्गत शिक्षाका विभिन्न उप-क्षेत्रगत योजना तर्जुमा सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । स्थानीय तहको शिक्षा योजना निर्माणसम्बन्धी मार्गदर्शन २०७८ (परिमार्जित संस्करण २०८१) का आधारमा कार्यशाला आयोजना गरिएको हो।

कारखाना समूहअन्तर्गत सञ्चालन भइरहेको सिभिल सोसाइटी इम्पावरमेन्ट फर एकाउन्टेबल एजुकेशन (CSE) परियोजनाअन्तर्गत विकास गरिएको ‘स्थानीय तहको शिक्षा योजना विश्लेषण फ्रेमवर्क’ तथा गुर्भाकोट नगरपालिकाको ‘विद्यालय शिक्षा क्षेत्र योजना (२०७९-२०८९)’ को विश्लेषण गरि कर्णाली सिकाई समूह द्वारा तयार गरिएको ‘एकीकृत सुझाव पत्र’ लाई आधार मानी शिक्षा क्षेत्र योजना तर्जुमा गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको थियो।

कार्यशालामा विद्यालय शिक्षा, शिक्षक क्षमता विकास, शैक्षिक समता र समावेशीकरण, समावेशी तथा समतामूलक पहुँच, भौतिक पूर्वाधार, शैक्षिक सुशासन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम, अनौपचारिक शिक्षार आजीवन सिकाइ, पाठ्यक्रम, पाठ्यपुस्तक, सिकाइ सामग्रीतथा मूल्याङ्कन, विद्यालय पोषण तथा स्वास्थ्य कार्यक्रम, विद्यालय सुरक्षा, विपत् न्यूनीकरण तथा उत्थानशीलता, विद्यालयमा सूचना तथा सञ्चार प्रविधि, शिक्षाको व्यवस्थापन तथा संस्थागत क्षमता विकासलगायत शिक्षा क्षेत्रका अन्य प्रमुख उप-क्षेत्रमा केन्द्रित भई विस्तृत छलफल, समूहगत अभ्यास तथा योजना तर्जुमा कार्य गरिएको थियो । सहभागीहरूले समूहमा विभाजन भई उप-क्षेत्रगत योजना निर्माणको व्यावहारिक अभ्याससमेत गरेका थिए ।

कार्यशालाको सहजीकरण कर्णाली सिकाइ समूहका सदस्य तपेन्द्र बहादुर सावदले गरेका थिए। उहाँले स्थानीय आवश्यकता, तथ्यांकमा आधारित योजना निर्माण तथा दीर्घकालीन शैक्षिक सुधारका लागि उप-क्षेत्रगत योजना निर्माणको महत्त्वबारे प्रकाश पारेका थिए ।

कार्यशालामा पूर्व शिक्षक भानुदत्त पौडेल शर्माले शिक्षाको गुणस्तर सुधारका लागि अभिभावक, शिक्षक र विद्यार्थीबीच सहकार्य आवश्यक रहेको बताए । अभिभावकमा जागरुकता, शिक्षकमा कर्तव्यनिष्ठता र विद्यार्थीमा लगनशीलता भए मात्र शिक्षामा सुधार सम्भव हुने उनले धारणा राखे ।

लेकबेसी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र कुमार शर्माले विद्यालय भवन र सडक निर्माणमा भइरहेको लगानीको दीर्घकालीन उपयोगिताबारे चिन्ता व्यक्त गरे।

विद्यार्थी संख्या घट्दै गएको अवस्थामा भौतिक संरचना निर्माणमा मात्र केन्द्रित हुनु चुनौतीपूर्ण हुने उल्लेख गर्दै उनले पूर्वाधारको उत्पादकत्व, सामाजिक प्रभाव र आर्थिक योगदानको सूक्ष्म मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । साथै बालबालिकामा नैतिकता र संस्कारको कमी देखिनु पनि चिन्ताजनक रहेको उनको भनाइ थियो ।

कार्यशालामा शिक्षा क्षेत्र योजनाको समीक्षा, तयारी चरण, प्राविधिक पक्ष, सम्भावना तथा चुनौती पहिचान र लक्ष्य निर्धारणलगायत विषयमा विस्तृत छलफल गरिएको थियो। शिक्षा योजनाका उपक्षेत्रको आधारमा समूह विभाजन गरी योजना तर्जुमा अभ्यास गरिएको कारखाना समूहका कर्णाली कल्स्टर प्रतिनिधि ललितजंग शाहीले जानकारी दिए ।

यसैबीच, गुर्भाकोट नगरपालिकामा स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण प्रक्रियाको क्रममा विभिन्न चरणमा विस्तृत छलफल गरी आवश्यक विषयहरू समेटिएको शाहीले बताए । कार्यशालाबाट प्राप्त सुझाव, छलफल तथा सिफारिसका आधारमा स्थानीय तहको शिक्षा योजना नयाँ मार्गदर्शनअनुसार अन्तिम रूप दिने तयारी गरिएको उनले बताए ।

कार्यक्रममा गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख बलवीर विकले स्थानीय तहको शिक्षा योजना गुणस्तरीय तथा समावेशी शिक्षाको आधार हुने उल्लेख गर्दै स्थानीय आवश्यकता, स्रोत र तथ्यांकमा आधारित व्यवहारिक योजना निर्माणमा जोड दिए । शिक्षक, अभिभावक तथा सरोकारवालाको सक्रिय सहभागिताबाट शिक्षाको पहुँच र गुणस्तर सुधार गर्नु मुख्य लक्ष्य रहेको जनाकारी दिए ।

नगरप्रमुख हस्त पुनले गुणस्तरीय र सर्वसुलभ शिक्षा नगरपालिकाको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै विद्यालयको पूर्वाधार सुधार, शिक्षक क्षमता अभिवृद्धि तथा विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए । सबै पक्षको सहकार्यबाट शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाइने उनको भनाइ थियो ।

यसैगरी, गुर्भाकोट र लेकबेसी दुवै नगरपालिकाको योजना निर्माण कार्य अन्तर्गत ‘योजना निर्माण कार्यदल’ गठनसमेत गरिएको छ । कार्यशालामा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, नगर शिक्षा समितिका सदस्यहरू, विद्यालयका प्रधानाध्यापक, अभिभावक र शिक्षा शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ चैत २३ गते सोमबार