२०८३ वैशाख ४ , शुक्रबार

‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक, नयाँ पुस्तालाई लोकतन्त्रको इतिहास चिनाउने प्रयास



पत्रकार तथा लेखक विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक गरिएको छ । नेपालको इतिहासमा सम्पन्न पहिलो आमनिर्वाचनको विस्तृत विवरण समेटिएको यो पुस्तक विशेषगरी पहिलोपटक मतदान गर्न लागेका नयाँ पुस्ता र इतिहासमा रुचि राख्ने पाठकका लागि उपयोगी हुने बताइएको छ ।

लेखक अनुपमले वर्तमान पुस्ता राजनीतिप्रति चासो बढाउँदै सक्रिय बहसमा सहभागी भइरहेको उल्लेख गर्दै पुस्तकले उनीहरूलाई नेपालको लोकतान्त्रिक यात्राको सुरुवातबारे बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार, ‘राजनीतिसँग मतलब छैन भन्ने पुस्ता अहिले सक्रिय रूपमा बहसमा उत्रिएको छ । यो पुस्तकले त्यो पुस्तालाई मुलुक कसरी लोकतन्त्रमा प्रवेश गर्‍यो भन्नेबारे जानकारी दिनेछ ।’

पत्रकार तथा लेखक जगत नेपालले अनुपमको कृतिलाई पहिलो आमनिर्वाचनको महत्वपूर्ण अभिलेखीकरणको रूपमा व्याख्या गरेका छन् । उनले आफ्नै पुस्तक ‘पहिलो संसद्: बीपी-महेन्द्र टकराव’ मा समेट्न नसकेका धेरै विषय यस पुस्तकमा समावेश भएको भन्दै यसलाई रोचक र ज्ञानवर्द्धक कृति बताएका छन् । ‘नेपालको संसदीय इतिहासमा चासो राख्ने जो–कसैका लागि यो पुस्तक उपयोगी हुनेछ,’ उनले भने ।

पुस्तकमा २०१५ सालको आमनिर्वाचनमा सहभागी राजनीतिक दलहरू, तिनका चुनाव चिह्न, घोषणापत्र, प्रचार–प्रसार शैली, उम्मेदवार, निर्वाचन क्षेत्र र परिणामसम्बन्धी तथ्याङ्क समेटिएका छन् । साथै, त्यतिबेलाको आन्तरिक राजनीतिक अवस्था र भूराजनीतिक परिवेशबारे पनि विश्लेषण गरिएको छ ।

लेखकले उक्त निर्वाचनमा सहभागी भएका जीवित उम्मेदवार र मतदातासँग संवाद गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अभिलेखहरूको अध्ययन गरेका छन् । पुस्तकमा समेटिएका चुनाव चिह्न, घोषणापत्र र पर्चाहरू जस्ताको तस्तै प्रस्तुत गरिएकाले यसलाई संग्रहणीय कृति बनाएको बताइएको छ ।

पर्यटन, कूटनीति र वातावरणका विषयमा नियमित लेख्दै आएका अनुपमको यो पहिलो पुस्तक हो । यसअघि उनले डोरबहादुर बिष्टको “रिपोर्ट फ्रम ल्हासा” को नेपाली अनुवाद गरेका थिए । उक्त पुस्तक बुकहिल प्रकाशनले बजारमा ल्याएको हो ।

प्रकाशित मिति : २०८२ चैत १८ गते बुधबार