२०८३ वैशाख ६ , आइतबार

विकास नहुँदासम्म चुनावमा सहभागी नहुने रहफवासीको निर्णय



अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर-१ रहफका नागरिकहरूले विकास सुनिश्चित नहुँदासम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन्।

रहफका नागरिक, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी तथा संघ–संस्थाका प्रतिनिधिहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा वडा भित्र आयोजना हुने कुनै पनि चुनावी आमसभा, प्रचार–प्रसार कार्यक्रम तथा मतदान केन्द्रमा मत खसाल्ने प्रक्रियामा समेत सहभागी नहुने निर्णय बैठकले गरेको छ।

संयुक्त निर्णयमा कर्णाली नदीमा मोटरेबल पक्की पुल निर्माण, आफ्नै जिल्ला तथा पालिकासँग जोडिने सडक सञ्जाल, विद्युत, खानेपानी, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकता वर्षौँदेखि पूरा नहुँदा बाध्य भएर यस्तो कदम चाल्नुपरेको उल्लेख गरिएको छ।

पूर्व नेकपा पालिका सचिव नरेन्द्र लम्सालले यो निर्णय कुनै दलविरोधी नभई विकासविहीन राजनीतिप्रति गरिएको शान्त र सामूहिक प्रतिरोध भएको बताए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका उपसभापति पवन रावलले आधारभूत आवश्यकता पूरा नहुँदासम्म चुनावमा सहभागिता जनाउनु जनताको पीडामाथि अन्याय हुने धारणा व्यक्त गरे।

रहफवासीहरूले उक्त निर्णयसहितको ज्ञापनपत्र सम्बन्धित निकायमा बुझाइसकेको जानकारी दिएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) बाट यज्ञ बोगटी, नेपाली कांग्रेसबाट पुष्प शाह, नेपाली कम्युनिस्ट पार्टीबाट बलबहादुर कुवर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट भुवदेव शाह उम्मेदवार रहेका छन्।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार