जाजरकोटमा कुटपिट गरी एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका दैलेखको नारायण नगरपालिका घर भई जाजरकोटको भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको हो।

गत साउन २५ गते राति करिब ९ बजे भेरी नगरपालिका–१०, नुवागाउँस्थित एक स्थानमा थापालाई भेरी नगरपालिका–८ का ३३ वर्षीय वीरेन्द्र खत्रीसहितको समूहले हातमुक्का प्रहार गरी कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि मिसन अस्पताल चौरजहारी, रुकुम पश्चिम लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्जस्थित केयर सिटी अस्पताल लगिएकामा उपचारकै क्रममा साउन २८ गते बिहान १ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भेरी नगरपालिका–८ का ३३ वर्षीय वीरेन्द्र खत्री, वडा नं. ९ का २१ वर्षीय निरज रोकाय, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाई, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय विनोद गोसाईलाई साउन २९ गते पक्राउ गरेको हो।
पक्राउ परेका पाँचै जनालाई जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए।









