२०८३ भदौ २७ , शनिबार

चौकुनेमा निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योगमा मजदुर मृत फेला



सुर्खेतको चौकुने गाउँपालिका–९, सुनाकाडास्थित निर्माणाधीन सूर्यतारा सिमेन्ट उद्योगमा कार्यरत एक मजदुर बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।

रौतहटको देवाही गोनाही नगरपालिका–६ घर भएका करिब ३२ वर्षीय श्याम बाबु राम विगत दुई महिनादेखि उक्त उद्योगमा मजदुरी गर्दै आएका थिए। बुधबार बिहान करिब ६ बजे छाती दुखेको भन्दै ओछ्यानमा सुतेका रामलाई साथीहरूले हेर्न जाँदा मृत अवस्थामा फेला पारेका थिए।

घटनाबारे उद्योगका सुपरभाइजर बुद्धिराज रिमालले बिहान ७ः४० बजे अस्थायी प्रहरी पोस्ट घाटगाउँ, सुर्खेतमा जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी सहायक निरीक्षक सिंहबहादुर कडालको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा ६ जनाको टोलीसमेत घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।

घटनाबारे मृतकका परिवारलाई समेत जानकारी गराइसकिएको छ। मृत्युको कारण भने खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ३ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।