बराहताल गाउँपालिकाको गाउँसभाको १८ औँ अधिवेशन अध्यक्ष भिमबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको छ।
अधिवेशनले विभिन्न ऐन, कार्यविधि तथा समसामयिक प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।

अधिवेशन सुरु हुनु पूर्व सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले सभामा उपस्थित जनप्रतिनिधि तथा सदस्यहरूले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराएका थिए।
त्यसपछि गाउँपालिका अध्यक्ष भण्डारीले १७ औँ अधिवेशनदेखि हालसम्मको प्रगति प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए।
गाउँपालिका विधेयक समितिका संयोजक चन्द्रबहादुर सिजापतिले आर्थिक तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२, बेरुजु फर्छ्यौट कार्यविधि विधेयक–२०८२, गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि विधेयक–२०८२ र लेखा समिति गठन तथा कार्य सञ्चालन कार्यविधि विधेयक–२०८२ सभामा पेस गरेका थिए।
यस्तै, उपाध्यक्ष लक्ष्मी पुन मगरले आर्थिक वर्ष २०८२/८३ का लागि संशोधित बजेट तथा रकमान्तरणसम्बन्धी प्रस्ताव प्रस्तुत गरिन्। गाउँपालिकाका प्रवक्ता नमराज शर्माले १७ औँ गाउँसभा पश्चात् हालसम्म कार्यपालिकाबाट भएका निर्णयहरू अनुमोदनका लागि सभामा पेस गरेका थिए।
सुशासन समितिका संयोजक हरिलाल सलामीले करार कर्मचारीको म्याद थपसम्बन्धी प्रस्ताव प्रस्तुत गरे। अध्यक्ष भण्डारीले सभामा पेस भएका विधेयक तथा प्रस्तावमाथि छलफल गराई पारितका लागि सभामा निर्णयार्थ प्रस्तुत गरेका थिए।
सभामा पेस गरिएका सबै विधेयक तथा प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको गाउँपालिकाका प्रवक्ता नमराज शर्माले बताए ।
अधिवेशनमा वडा अध्यक्षहरू, वडा सदस्यहरू, कार्यपालिका सदस्य तथा पालिकामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो।











प्रतिक्रिया दिनुहोस्