२०८३ कात्तिक १२ , बुधबार

कांग्रेसमा गुटगत राजनीति अन्त्य भएको सभापति गगन थापाको घोषणा

‘०७४, ०३६, देउवा समूह, कोइराला समूह, पौडेल समूह, विशेष, नविशेष आजदेखि सबै सकियो, यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धिमध्येको उपलब्धि यही हो ।


नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र लामो समयदेखि कायम गुटगत राजनीति अन्त्य भएको घोषणा गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले देउवा, कोइराला, पौडेललगायतका नाममा हुँदै आएको समूहगत राजनीति अब समाप्त भएको बताएका हुन् ।

‘०७४, ०३६, देउवा समूह, कोइराला समूह, पौडेल समूह, विशेष, नविशेष आजदेखि सबै सकियो,’ उनले भने, ‘फिनिस्ड । यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धिमध्येको उपलब्धि यही हो ।’

उनले अब कुनै समूह वा गुटको आधारमा नभई कांग्रेसको भविष्य, पार्टीका मूल्य र विचारलाई केन्द्रमा राखेर नेतृत्व चयन गर्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे ।
थापाले कांग्रेस आफ्नो लागि केवल राजनीतिक संगठन नभई घर र परिवारजस्तो रहेको बताए । पार्टीसँग जोडिएको मूल्य र विचारप्रतिको गहिरो सम्बन्धकै कारण आफूले कांग्रेस छाडेर नयाँ पार्टी गठन गर्ने प्रस्तावसमेत अस्वीकार गरेको उनले स्मरण गरे ।

‘पार्टी मेरो निम्ति एउटा घरजस्तो पनि भयो, परिवारजस्तो पनि भयो । पार्टी भनेको केवल एउटा संगठनको संरचना वा कार्यालय मात्र होइन,’ उनले भने, ‘यससँग जोडिएको मूल्य सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

उनका अनुसार २०७० सालतिर एक जना अभियन्ताले नयाँ पार्टी गठन गरी आफूलाई सभापति बन्न प्रस्ताव गरेका थिए । तर कांग्रेसको मूल्य, विचार र परम्परासँग आफ्नो सम्बन्ध गहिरो रहेको भन्दै उनले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

थापाले कांग्रेसका मूल्य र विचारप्रति असन्तुष्टि नभए पार्टीभित्र देखिएका गलत व्यवहार, निर्णय र नीतिविरुद्ध संघर्ष गर्नुपर्ने बताए । पार्टी सभापति र सामान्य कार्यकर्ताबीच अधिकार तथा हैसियतको आधारभूत समानता रहेको उनको भनाइ थियो ।

‘पार्टीको सभापति माननीय, सम्माननीय होइन, यो केवल एउटा जिम्मेवारी हो, त्यो पनि समय तोकेर दिएको जिम्मेवारी हो,’ उनले भने, ‘हामी सबै बराबर हौँ ।’ उनले कांग्रेसको सुधार तल्लो तहका सदस्यबाटै सुरु गर्नुपर्ने बताए । पार्टी सदस्यता, नेतृत्व चयन, संगठन सञ्चालन र आन्तरिक कार्यपद्धतिमा ठूलो परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।

पार्टीको सार्वभौमसत्ता क्रियाशील सदस्य तथा व्यापक अर्थमा कांग्रेसका समर्थक र शुभेच्छुकमा रहेको उल्लेख गर्दै थापाले संगठनलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताए । आगामी दिनमा पार्टीको आन्तरिक व्यवस्थापनमा २० प्रतिशत र कांग्रेसलाई राष्ट्रिय रूपमा सुदृढ बनाउन ८० प्रतिशत समय खर्च गर्ने लक्ष्य रहेको उनले सुनाए । थापाले सामाजिक सञ्जाल र डिजिटल माध्यमको विस्तारले लोकतन्त्रसामु नयाँ चुनौती थपिएको बताए ।

सामाजिक सञ्जालका एल्गोरिदमले मानिसलाई आफूले रुचाएका विषय र विचारकै सीमित घेराभित्र राख्ने भएकाले बहुविचार र विचारको प्रतिस्पर्धा कमजोर हुनसक्ने उनको भनाइ थियो । ‘डेमोक्रेसीको सबैभन्दा महत्वपूर्ण कुरा बहुविचार हुन्, विचारको बीचमा प्रतिस्पर्धा हो,’ उनले भने, ‘तर सामाजिक सञ्जाल बाइ डिजाइन कस्तो भएको छ भने त्यहाँभित्र बहुविचारहरूको प्रतिस्पर्धा छैन ।’ सामाजिक सञ्जालमा तथ्य र तर्कभन्दा भावनात्मक विषय बढी प्रभावकारी बन्ने गरेको भन्दै उनले नेपालमा मात्रै नभई विश्वभरका लोकतन्त्रले यस्तो चुनौती सामना गरिरहेको बताए ।

कांग्रेस नेपालको सबैभन्दा पुरानो राजनीतिक दल भए पनि नयाँ पुस्ताको विश्वास जित्न सक्ने क्षमता विकास गर्नुपर्ने थापाको भनाइ थियो । नेपाल इतिहासकै सबैभन्दा युवा अवस्थामध्ये रहेको उल्लेख गर्दै उनले युवालाई विगतको इतिहास मात्रै सुनाएर कांग्रेससँग जोड्न नसकिने बताए । ‘उसलाई हामीले इतिहास बताउनुपर्छ, तर नयाँ इतिहास रच्छौँ भन्ने कुराको विश्वास पनि दिलाउन सक्नुपर्छ,’ उनले भने ।

आफूले कांग्रेसको सदस्यता लिँदा विगतमा पार्टीले गरेका कामका कारण नभई भविष्यमा कांग्रेसले केही गर्न सक्छ भन्ने विश्वासका कारण सदस्य बनेको पनि थापाले बताए । थापाले विशेष महाधिवेशनको वैधानिकतालाई लिएर अदालतमा भइरहेको विवाद अन्त्य गर्न कांग्रेस नेताहरूलाई आग्रह गरे ।

विषय राजनीतिक भएकाले पटक–पटक अदालत जानेभन्दा पार्टीभित्रै समाधान खोज्नुपर्ने उनको भनाइ थियो । उनले अदालतबाट विशेष महाधिवेशन अवैध भएको फैसला आए पनि त्यसलाई स्वीकार गरेर १५औँ महाधिवेशनमा फर्कन तयार रहेको आफूले यसअघि नै बताइसकेको स्मरण गरे ।

प्रकाशित मिति : २०८३ असोज २१ गते बुधबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।