२०८३ कात्तिक ११ , मंगलबार

सुर्खेत–२ मा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन अनिश्चित, दुई समूहबीच प्रतिस्पर्धा



नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अनिश्चित बनेको छ।

प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्का क्षेत्र नम्बर १ बाट निर्वाचित भए पनि क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोजेपछि कांग्रेसभित्रको आन्तरिक प्रतिस्पर्धा थप पेचिलो बनेको नेताहरूले बताएका छन्।

क्षेत्र नम्बर २ अन्तर्गत वीरेन्द्रनगर–७ बाट प्रतिनिधि छनोट भएका खड्कासहित पूर्वमन्त्री हृदयराम थानी, कांग्रेस सुर्खेतका जिल्ला सचिव टोपबहादुर रावत र प्रदेश महामन्त्री निरञ्जन केसी एक समूहमा रहेको बताइएको छ।

त्यस्तै कांग्रेस केन्द्रीय सदस्यद्वय जानकी सिंह र तीर्थजंग शाही, पूर्वमन्त्री शिवराज जोशी, पूर्वजिल्ला सभापति कमलराज रेग्मी, पूर्वमेयरद्वय देवकुमार सुवेदी र उपेन्द्र थापा तथा प्रतिनिधिसभाका उम्मेदवार नारायण कोइरालासहितका नेताहरू अर्को समूहमा रहेको कांग्रेस नेताहरूको भनाइ छ।

दुई समूहबीचको मतभेदका कारण क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि चयन हुन सकेको छैन। प्रतिनिधि चयनका लागि पञ्चपुरी नगरपालिका–५, बाबियाचौर पुगेका नेता तथा कार्यकर्ता असोज ११ गतेदेखि अन्योलमा रहेको स्थानीय नेताहरूले बताएका छन्।

खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निर्वाचन आयोगको नतिजाअनुसार उनले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत–१ बाट २६ हजार ८९७ मत प्राप्त गरेका थिए।

कांग्रेसभित्र भने खड्काको क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारीलाई लिएर फरक–फरक धारणा सार्वजनिक भइरहेका छन्। एक महाधिवेशन प्रतिनिधिका दावेदारले क्षेत्र नम्बर १ बाट सांसद निर्वाचित व्यक्ति क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोज्दा पार्टीभित्रको गुटगत प्रतिस्पर्धा थप बढेको दाबी गरे।

उनले भने, “निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद हुने तर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बन्न खोज्दै गुट जमाउन खोज्नु माननीयज्यूको क्रियाकलाप ठीक देखिएन। उहाँ र हृदयराम थानीज्यूबीच कस्तो खालको तालमेल हो, कसैले बुझ्न सकेका छैनौँ।”

यता, नेपाली कांग्रेस १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत जिल्ला निर्वाचन अधिकृतको कार्यालयले क्षेत्रीय निर्वाचन कार्यक्रम स्थगित गरेको छ। निर्वाचन अधिकृत उत्तमप्रसाद आचार्यले प्रतिकूल मौसमलगायतका कारण क्षेत्रीय अधिवेशन स्थगित गरिएको यसअघि जानकारी दिएका थिए।

प्रकाशित मिति : २०८३ असोज १५ गते बिहीबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।