२०८३ भदौ २७ , शनिबार

देशभर फैलियो मनसुन, १२ दिनमा सम्पूर्ण नेपालमा विस्तार



जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली मंगलबारदेखि देशभर फैलिएको घोषणा गरेको छ।

महाशाखाले मनसुन बुलेटिन जारी गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशसहित नेपालका सबै प्रदेशमा मनसुनको प्रभाव पूर्ण रूपमा विस्तार भएको जनाएको हो।

यस वर्ष मनसुन औसत समयभन्दा केही ढिलो नेपाल प्रवेश गरेको थियो। सामान्यतया मनसुन प्रत्येक वर्ष जुन १३ (जेठ अन्तिम/असार प्रारम्भ) मा पूर्वी नेपालबाट प्रवेश गरी करिब एक साताभित्र देशभर फैलिने गर्छ। तर यस वर्ष भने औसत मितिभन्दा ६ दिन ढिलो, असार ५ गते (जुन १९) कोशी प्रदेशको पूर्वी भूभागबाट मनसुन नेपाल भित्रिएको थियो।

महाशाखाका अनुसार असार ८ गते (जुन २२) सम्म मनसुन कोशी प्रदेशको बाँकी भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा विस्तार भएको थियो।

त्यसपछि क्रमशः पश्चिमतर्फ अघि बढ्दै असार १६ गते (जुन ३०) का दिन कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशभर मनसुन फैलिएको महाशाखाले जनाएको छ।

यसरी पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर विस्तार हुन यस वर्ष कुल १२ दिन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहने भएकाले मौसमसम्बन्धी सूचना तथा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्:

असार १६–१७ मा देशभर मुसलधारे वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।