२०८३ भदौ २७ , शनिबार

असार १६–१७ मा देशभर मुसलधारे वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम



देशभर मनसुन क्रमशः सक्रिय बन्दै जाँदा आगामी असार १६ र १७ गते अधिकांश क्षेत्रमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै ती दुई दिन देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने जनाएको हो।

महाशाखाका अनुसार मधेस, कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा धेरै भारी (मुसलधारे) वर्षाको सम्भावना रहेको छ। साथै, देशका पहाडी तथा तराईका धेरै तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएको र त्यसकै प्रभावले मनसुन देशका बाँकी क्षेत्रमा समेत थप सक्रिय हुने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्र्यान बहावको जोखिम बढ्न सक्ने, सहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने तथा ठूला–साना नदी तथा खोलामा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

यसका साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी तथा प्रतिकार्यका लागि सजग रहन अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।