
संसदीय अभ्यासअनुसार सरकारभन्दा शक्तिशाली र प्रभावकारी प्रतिपक्षीको भूमिका आवश्यक मानिन्छ।
तर, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने आन्तरिक गुटबन्दीमै अल्झिँदा उसको संसदीय भूमिका कस्तो रहला भन्ने प्रश्न उठ्न थालेको छ।
दुई तिहाइनजिक बहुमतसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार सशक्त रूपमा अघि बढिरहेका बेला ३८ सांसदसहित संसद्मा रहेको कांग्रेसले प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्नुपर्ने अपेक्षा छ।
तर, पार्टीभित्र तीन गुट सक्रिय बन्दा एकीकृत रणनीति निर्माणमै चुनौती देखिएको छ।
कांग्रेसको आधिकारिकता विवाद संवैधानिक रूपमा टुंगिए पनि भावनात्मक रूपमा भने अझै जीवित छ। अदालतले गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई वैधानिकता दिए पनि पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहले छुट्टाछुट्टै गतिविधि सञ्चालन गरिरहेका छन्।
यही सन्दर्भमा मंगलबार देउवा पक्षले काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट होटेलमा भेला आयोजना गरेको छ। भेलाले पार्टीका पछिल्ला गतिविधि समीक्षा गर्दै आगामी रणनीति तय गर्ने दाबी गरिएको छ।
देउवा पक्ष भनेर चिनिने भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरिएको भोलिपल्ट आयोजित भेलामा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजन रहेको थियो। भेलामा विजयकुमार गच्छदार, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, सुजाता कोइराला, महालक्ष्मी उपाध्याय डिना र उमाकान्त चौधरीलगायत नेताहरू सहभागी भएका छन्।
यसअघि देउवा समूहको भेलामा सहभागी हुँदै आएका शेखर कोइराला समूहका नेताहरू भने मंगलबारको भेलामा अनुपस्थित रहे। देउवा पक्षको भेला चलिरहेकै बेला शेखर कोइरालाले वैशाख १७ गतेका लागि आफूनिकट नेताहरूको बागमती प्रदेशस्तरीय भेला आह्वान गरेका छन्।
उक्त भेलामा बागमती प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद तथा प्रदेश कार्यसमितिका पदाधिकारीहरू सहभागी हुने जनाइएको छ।
कांग्रेसभित्र बढ्दो गुटगत सक्रियताले एकातर्फ पार्टी एकताको सन्देश कमजोर बनाएको छ भने अर्कोतर्फ संसद्मा प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाहमा समेत प्रश्न खडा गरेको छ।








