२०८३ भदौ ३१ , बुधबार

कर्णालीमा सामाजिक विकास मन्त्रीमाथि प्रश्न, प्रतिपक्षको राजीनामा माग



कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको राजीनामा माग गरिएको छ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत सातौँ अधिवेशनको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मन्त्री भण्डारी असक्षम भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने माग गरेको हो।

प्रदेश सभाको बैठकमा शून्य समयमा बोल्दै नेकपाका संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जि.सी.ले मन्त्री भण्डारी मन्त्रालय सञ्चालनमा असफल भएको आरोप लगाए।

जनताको आधारभूत सेवा प्रवाहसम्बन्धी विषयमा स्पष्ट जवाफ दिन नसक्ने मन्त्री असक्षम हुने भन्दै उनले तत्काल राजीनामा दिन आग्रह गरेका थिए ।

उनले सामाजिक विकास मन्त्रालयको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै मन्त्रीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको दाबी गरे।

साथै, मुख्यमन्त्री यामलाल कँडेलले पनि मन्त्रीलाई प्रभावकारी रूपमा नियमन गर्न नसकेको भन्दै उनले प्रश्न उठाए।

प्रतिपक्षले यसअघि उठाइएका विषयहरूमा मन्त्रीबाट स्पष्ट र जिम्मेवार जवाफ नआएको आरोपसमेत लगाएको छ।

विशेषगरी क्यान्सर तथा दीर्घरोगीलाई उपलब्ध गराइने एक लाख रुपैयाँ सहयोग वितरण प्रक्रियामा जटिलता रहेको भन्दै उक्त समस्या शीघ्र समाधान गर्न माग गरिएको छ।

त्यसैगरी, स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरूको सरुवामा पक्षपात गरिएको आरोप पनि नेकपाले लगाएको छ।

समान प्रकृतिका कर्मचारीबीच विभेदपूर्ण व्यवहार देखिएको भन्दै नियम सबैका लागि समान रूपमा लागू हुनुपर्नेमा जोड दिइएको छ।

प्रकाशित मिति : २०८२ चैत ८ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।