२०८३ भदौ २८ , आइतबार

कर्णालीबाट ३८ हजार बढी विद्यार्थीले एसईई दिँदै, कुन जिल्लामा कति ?



यही १९ चैतदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार ३७९ विद्यार्थी सहभागी हुने भएका छन्।

गत वर्षको भन्दा करिब २ हजार बढी विद्यार्थी यो वर्षको एसईई परिक्षामा सहभागी हुने भएका हुन् ।

शिक्षा विकास निर्देशनालय, सुर्खेतका अनुसार प्रदेशका १० जिल्लामा रहेका १६१ परीक्षा केन्द्रमार्फत नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ ६ हजार १२४ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

सूचना अधिकारी तथा परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले सबैभन्दा बढी विद्यार्थी सुर्खेतबाट ९ हजार ७७९ सहभागी हुने र सबैभन्दा कम डोल्पाबाट ६७४ विद्यार्थी रहेको जानकारी दिए। डोल्पामा चारवटा मात्रै परीक्षा केन्द्र तोकिएका छन्।

कर्णालीका जिल्लागत विद्यार्थी संख्या (एसईई २०८२)

दैलेखबाट ६ हजार २५३, जाजरकोटबाट ४ हजार ८१३, सल्यानबाट ४ हजार १४२, रुकुमपश्चिमबाट ३ हजार ९२२ र कालीकोटबाट ३ हजार ७१७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन्।

यस्तै जुम्लाबाट २ हजार २५५, मुगुबाट १ हजार ५२४ र हुम्लाबाट १ हजार ३०० विद्यार्थी सहभागी हुनेछन्।

परीक्षा केन्द्रतर्फ सुर्खेतमा ३४, दैलेखमा २२, कालीकोटमा २०, सल्यानमा १९, जाजरकोट र रुकुमपश्चिममा १६–१६, जुम्लामा १४, मुगुमा ९, हुम्लामा ७ र डोल्पामा ४ वटा केन्द्र निर्धारण गरिएको निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत ६ गते शुक्रबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।