सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ परसेनीमा मतदाता शिक्षा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। Forum for Women, Law and Development (FWLD) को सहयोग तथा Youth in Federal Discourse को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

कर्णाली प्रदेश केन्द्रित उक्त कार्यक्रमको उद्देश्य नागरिकको मत खेर नजाओस् भन्ने जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा ६० भन्दा बढी नागरिकको सहभागिता रहेको थियो। सहभागीहरूमा थारु समुदायका प्रतिनिधि, महिला, ज्येष्ठ नागरिक, युवा तथा पहिलो पटक मतदान गर्ने मतदाताको सहभागिता रहेको थियो।
कार्यक्रममा मतदाता अधिकार, कर्तव्य, मतदान प्रक्रिया र सचेत सहभागिताको महत्वबारे जानकारी दिइएको थियो। अन्तरक्रियात्मक छलफलमार्फत सहभागीहरूले आफ्ना जिज्ञासा तथा अनुभवहरू राखेका थिए।
प्रशिक्षक भावना शाहीले मतदाता शिक्षा लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सचेत र जिम्मेवार नागरिक सहभागिताले मात्र लोकतन्त्र मजबुत बन्ने धारणा व्यक्त गरिन्।









