२०८३ साउन १२ , मंगलबार

प्रधानमन्त्री ओली सुर्खेतमा, खराब मौसमले हुम्ला यात्रा रोकियो

हुम्लाको खार्पुनाथ–५ स्थित चुवाखोला कर्णाली नदीमा बेलिब्रिज निर्माण भएपछि सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडियो ।


कर्णाली करिडोर अन्तर्गत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलिब्रिजको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत पुगेका छन्। खराब मौसमका कारण तय गरिएको समयअनुसार हुम्लातर्फ यात्रा थाल्न सकिएको छैन।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, एमाले उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीलगायत उच्चस्तरीय प्रतिनिधिमण्डल सुर्खेत पुगेका छन्। उनीहरू नेपाली सेनाको उत्तर–पश्चिम पृतना मुख्यालयमा बसेका छन्।

सुर्खेतमा निरन्तर वर्षाका कारण हवाई उडान प्रभावित भएको छ। मौसम अनुकूल भएपछि प्रधानमन्त्री टोली हुम्ला प्रस्थान गर्ने तयारीमा रहेको नेपाली सेनाले जानकारी दिएको छ।

कर्णाली करिडोर निर्माण थालिएको २६ वर्षपछि हुम्ला जिल्लाको सदरमुकाम सिमकोट पहिलोपटक राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यही अवसरमा चुवाखोलामा निर्माण गरिएको बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला जान लागेका हुन्।

४ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त बेलिब्रिज नेपाली सेनाले जम्मा ३५ दिनमै सम्पन्न गरेको हो। उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्रीसहित संघीय मन्त्रीहरू, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, प्रधानसेनापति प्रभुराज रेग्मी, पूर्वाधार सचिव केशव कुमार शर्मा लगायत १८ सदस्यीय टोली हुम्ला प्रस्थान गर्ने तयारीमा छ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन।